मेस्सीका पिता र बार्सिलोनाका अध्यक्षबीच आज ‘निर्णायक’ वार्ता हुँदै

एजेन्सी, भदौ १७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख खेलाडी लिओनल मेस्सीले क्लब छाड्ने निर्णय गरेपछि उत्पन्न घटनाक्रमबीच क्लबका अध्यक्ष र मेस्सीका पिताबीच निर्णायक छलफल हुने भएको छ । मेस्सीका पिता जोर्गे मेस्सी छोरा मेस्सीका एजेन्टसमेत हुन् । स्पेनिस मिडियाका अनुसार आज बुधबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र मेस्सीका पिताबीच पहिलोपटक औपचारिक छलफल हुन लागेको हो ।

जोर्गे मेस्सी अर्जेन्टिनाबाट सोमबार मात्रै बार्सिलोना पुगिसकेका छन् । उनी आफ्ना छोराको केस किनारा लगाउनकै लागि बार्सिलोना पुगेका छन् । नयाँ सिजन सुरु हुने मिति नजिकिँदै गर्दा बार्सिलोनाले मेस्सीको विषयमा निर्णय दिन नसक्दा मेस्सीका पिता छलफलका लागि बार्सिलोना पुगेका हुन् ।

मेस्सीले आफ्नो सम्झौताअनुसारै क्लब छाड्न पाउनुपर्ने अनुरोध गर्दै आफ्नो निर्णय क्लबलाई बुझाइसकेका छन् । उनले आफ्नो अन्तिम एक वर्षको सम्झौता बाँकी रहे पनि त्यसलाई खारेज गरेर फ्रि ट्रान्सफरमा क्लब छाड्न पाउनुपर्ने सर्त राखेका छन् । मेस्सीको रिलिज क्लज ७०० मिलियन युरो छ । यदि क्लब बार्सिलोनाको सहमतिबिनै कुनै क्लबले मेस्सीलाई एकपक्षीय रूपमा भित्र्याउँदा ७०० मिलियन युरो तिर्नुपर्छ ।

तर, बार्सिलोनाले मेस्सीलाई फ्रि ट्रान्सफरमा क्लब छाड्न नदिने स्पष्ट छ । बार्सिालोनाले मेस्सीले क्लब छाड्ने भए थप एक सिजन क्लबमै रहनुपर्ने कि त उनलाई लैजाने क्लबले ७०० मिलियन नै तिर्नुपर्ने बताएको छ । तर, कुनै पनि क्लबले अहिलेको स्थितिमा मेस्सीका लागि ७०० मिलियन युरो खर्चन नसक्ने भएकाले फ्रि ट्रान्सफरबिना मेस्सीको सरुवा करिब–करिब असम्भवजस्तै छ । तर, अब एक सिजन बार्सिलोनामै रहे अर्को वर्ष मेस्सीले आफूखुसी निःशुल्क चाहेको क्लबमा जान पाउँछन् ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार ०३:४४
Loading...