कोएमानको योजनाका एक खेलाडीसहित २ जना बार्सिलोना अनुबन्ध नजिक

एजेन्सी, भदौ १७
स्पेनिस फुटबल क्लब बार्सिलोना नयाँ सिजनअघि २ जना नयाँ खेलाडी अनुबन्ध नजिक पुगेको छ । नयाँ प्रशिक्षक रोनाल्ड कोएमानको योजनाअनुसार २ जना प्रमुख खेलाडी नयाँ सिजनअघि नै क्याम्प नोउ आइपुग्ने करिब–करिब पक्का भएको स्पेनको चर्चित पत्रिका ‘स्पोर्ट्स’ले जनाएको छ ।

जसमा बार्सिलोनाले गत समरबाटै अनुबन्ध गर्न चाहेका इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेज र इंग्लिस क्लब लिभरपुलका डच मिडफिल्डर जर्जिनो विज्नाल्डुम रहेका छन् । २३ वर्षका मार्टिनेजलाई बार्सिलोनाले उरुग्वेन फरवार्ड लुइस स्वारेजको दीर्घकालीन प्रतिस्थापनका रूपमा भित्र्याउने चाहेको छ ।

मिलानका प्रमुख खेलाडी मार्टिनेजको अनुबन्धपछि बार्सिलोनाको आक्रमण लाइनमा दीर्घकालीन समाधान हुनेछ । तर, मार्टिनेज भित्र्याउन बार्सिलोनाले महँगो बजेट खर्चनुपर्ने हुन्छ । मिलानमा उनको रिलिज क्लज मात्रै १११ युरो मिलियन छ । बार्सिलोनाले स्वारेज बेच्ने अवस्थामा मार्टिनेज बार्सिलोना सरुवाका लागि तयार छन् ।

त्यसैगरी, कोएमानले आफ्नो देशका खेलाडी विज्नाल्डुमलाई नयाँ सिजनअघि नै भित्र्याउने अन्तिम तयारी गरेका छन् । उनको सरुवाका लागि लिभरपुलसँग सरुवा फीको विषयमा सहमति बन्न सकेको छैन । तर, खेलाडीको तलब–सुविधामा दुई पक्षबीच सहमति बनिसकेको छ । २९ वर्षका डच खेलाडी बार्सिलोना सरुवा हुन तयार छन् । कोएमानले बार्सिलोना आउनुअघि राष्ट्रिय टोलीमा सँगै काम गरेकाले विज्नाल्डुमलाई प्राथमिकतामा राखेका हुन् । उनका लागि बार्सिलोनाले ३० मिलियन युरोसम्म तिर्नुपर्नेछ ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार ०१:४४
Loading...