‘बार्सिलोनाले ताकेका’ प्ले मेकर युनाइटेड अनुबन्ध नजिक

एजेन्सी, भदौ १६
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड डच क्लब आयाक्सका युवा स्टार मिडफिल्डर डनी भान डे बिक अनुबन्ध नजिक पुगेको छ । ‘बिबिसी’का अनुसार युनाइटेडले २३ वर्षका प्ले मेकर खेलाडीलाई यसै साताभित्रमा औपचारिक अनुबन्धको घोषणा गर्न सक्ने छ ।

डच खेलाडी भान डे बिकलाई स्पेनिस क्लब बार्सिलोनाले उच्च प्राथमिकतामा राखेको थियो । नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले आफ्नै देशका स्टार मिडफिल्डरलाई भित्र्याउन चाहेका थिए । तर, बार्सिलोनालाई जिल्लाउँदै युनाइटेडले उनलाई भित्र्याउने नजिक पुगेको हो ।

डच क्लब आयाक्सबाट पहिलो रोजाइमा खेलिरहेका भान डे बिकका लागि आयाक्स र युनाइटेडबीच ४० मिलियन पाउन्डमा सम्झौता हुने सम्भावना छ । रिपोर्टअनुसार दुई क्लब खेलाडीको सरुवा फीलाई लिएर सहमत भएका छन् । तर, खेलाडीले नयाँ क्लबमा पाउने सुविधालगायत बाँकी सर्तमा छलफल चलिरहेको बताइएको छ ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार १५:५७
Loading...