मेस्सीलाई ग्वार्डिओलाको सुझाव– ‘निर्णय फिर्ता लिएर बार्सिलोनामै बस’

एजेन्सी, भदौ १६
नयाँ सिजनअघि नै क्लब छाड्ने निर्णय गरेर बसेका स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीको विषयमा विभिन्न चर्चा भइरहँदा नयाँ रिपोर्ट सार्वजनिक भएको छ । मेस्सी बार्सिलोना छाडेर जान चाहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रमुख प्रशिक्षक पेप ग्वार्डिओलाले यदि ‘फ्रि ट्रान्सफर’ हुँदैन भने मेस्सीलाई आफ्नो निर्णय बदलेर थप एक सिजन बार्सिलोनामै रहन सुझाव दिएका छन् ।

स्पेनमा बार्सिलोना निकट भनेर चिनिने चर्चित पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले नयाँ अंकको फ्रन्ट पेजमा यस विषयको रिपोर्टलाई प्रमुखतासाथ छापेको छ । सो रिपोर्टले सोमबार मेस्सी र ग्वार्डिओलाले बार्सिलोनामा ४५ मिनेटसम्म बैठक गरेको जनाएको छ । सोक्रममा ग्वार्डिओलाले स्पष्ट रूपमा ‘यदि बार्सिलोनाले फ्रि ट्रान्सफरमा छाड्न मानेन भने’ मेस्सीलाई कानुनी लडाइँको झमेला छाडेर एक सिजन बार्सिलोनामै रहन सुझाव दिएका हुन् ।

भेटक्रममा ग्वार्डिओलाले मेस्सीलाई सिटीले ठूलो बजेट खर्चेर भित्र्याउन नसक्ने स्पष्ट पारेका छन् । केही समयअघि मात्रै आर्थिक नियम उल्लंघन गरेको आरोपमा च्याम्पियन्स लिगमा दुई सिजनको प्रतिबन्धको कारबाहीमा परेको सिटीले जसोतसो फुकुवा पाएका छ । त्यसैले सिटी पुनः आर्थिक नियम तोडेर मेस्सीलाई भित्र्याएर अर्को कारबाहीको जोखिम उठाउन चाहँदैन ।

त्यसै पनि युइएफएले सिटीमाथि तीन सिजन ठूलो बजेट खर्चेर खेलाडी भित्र्याउन नपाउने गरी सीमित दायरा नै तोकिदिएको छ । त्यो दायरा पालना गर्दा पनि सिटीले यो समर विन्डोसहित थप दुई सिजन १२७ मिलियन युरोभन्दा ठूलो बजेटका खेलाडी भित्र्याउन पाउँदैन । त्यसो गरे ऊ फेरि ‘फाइनान्सियल फेयर प्ले’को कारबाहीमा पर्नेछ ।

यता, यसअघि मेस्सीले भने फ्रि ट्रान्सफरमा बार्सिलोना छाडेर सिटी जानकै लागि क्लब छाड्ने निर्णय गरेका थिए । मेस्सी अझै पनि आफूले फ्रि ट्रान्सफरमा क्लब छाड्न पाउनेमा आशावादी छन् । उनले आफ्नो बाँकी रहेको एक वर्षको सम्झौता भंग गरेर सित्तैमा क्लब छाड्न पाउनुपर्ने सर्त राखेका छन् । तर, क्लबले मेस्सीको एक वर्षको सम्झौता बाँकी रहेकै अवस्थामा कुनै पनि हालतमा सित्तैमा अर्को क्लबमा जान दिने पक्षमा छैन । बरु, मेस्सीसँग कानुनी युद्ध लड्न बार्सिलोना ततयार छ ।

रिपोर्टअनुसार ग्वार्डिओलाले थप एक सिजन बार्सिलोनामै रहेर अर्को सिजन सहज रूपमा सम्मानसाथ क्लब छाड्दा राम्रो हुने सुझाव मेस्सीलाई दिएका छन् । अहिले कुनै पनि क्लबसँग मेस्सी भित्र्याउन र उनलाई ठूलो साइजको तलब दिन आर्थिक क्षमता नरहेको र यदि कोही भए पनि क्लबलाई पनि आर्थिक नियमले बाँध्ने हुँदा मेस्सीको शुल्कसहितको सरुवा यही समरमा सम्भवै नरहेको फुटबल क्षेत्रका विशेषज्ञहरूले पनि बताउँदै आएका छन् ।

यदि ग्वार्डिओलाले मेस्सीलाई साँच्चै नै बार्सिलोना नछाड्न सुझाव दिएको र सिटीले पैसा खर्चेर भित्र्याउन नसक्ने भए मेस्सी अब ठूलो नैतिक संकटमा फस्ने भएका छन् । क्लब छाड्ने निर्णय गरेर क्लबको प्रि–सिजन कार्यक्रम नै बहिष्कार गरेर घरमै बसिरहेका उनीमाथि क्लबले अनुशासनको कारबाही गर्ने तयारी गरिरहँदा उनले निर्णय बदलेर क्लब नै फर्किनुपरे उनीमाथि ठूलो नैतिक प्रश्न उठ्नेछ ।

यसअघि सन् २०१६ मा पनि अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि निराश बनेर मेस्सीले अन्तर्राष्ट्रिय फुबलबाट सन्यास लिएका थिए । तर, पछि उनले सो सन्यास फिर्ता लिँदै पुनः टोलीमा फर्किएका थिए । यदि बार्सिलोनामा पुनः त्यस्तै अवस्था दोहोरिए त्यो मेस्सीका लागि ठूलो नैतिक संकट हुनेछ ।

***

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार १४:५३
Loading...