राकिटिकको मूल्य १.५ मिलियन मात्रै : यस्ता छन् अन्य सर्तहरू

एजेन्सी, भदौ १६
स्पेनिस क्लब बार्सिलोनाले आफ्ना स्टार मिडफिल्डर इभान राकिटिकलाई निकै सस्तो मूल्यमा बेचेको छ । ३२ वर्षीय क्रोएसियन खेलाडीलाई जम्मा १.५ मिलियन युरोमा सेभिल्लाले अनुबन्ध गरेको हो । सेभिल्ला राकिटिकको पूर्वक्लब हो । उनी सन् २०१४ मा सेभिल्लाबाट बार्सिलोना आएका थिए । त्यसबेला उनको सरुवा फी २२ मिलियन युरो थियो । त्यसबेला राकिटिक सेभिल्लाका कप्तान थिए ।

बढ्दो उमेरका राकिटिकलाई बार्सिलोनाले मात्रै १.५ मिलियन बेचेको हो । नयाँ प्रशिक्षक रोनाल्ड कोएमानको नेतृत्वमा राकिटिक नयाँ सिजनको योजनामा नरहने भएपछि राकिटिक पनि क्लब छाड्न बाध्य भएका हुन् । विकल्पमा उनले पूर्वक्लब सेभिल्ला रोजेपछि दुई क्लबबीच सहमति बनेको हो ।

बार्सिलोनामा ६ सिजन बिताउनेक्रममा राकिटिक भर्खरै सकिएको सिजनबाहेक ५ सिजन प्रमुख खेलाडी बने । उनले ६ सिजन बिताउनेक्रममा कूल ३१० खेल खेल्दै ३५ गोल गरे भने ४२ गोलमा असिस्ट गरे । सोक्रममा उनले कूल १३ उपाधि जिते ।

राकिटिकले बार्सिलोनामा चार ला लिगा, चार कोपा डेल रे, एक च्याम्पियन्स लिगसहित कूल १३ उपाधि जिते । सन् २०१५ मा बार्सिलोनाले इटालियन युभेन्टसलाई हराएर च्याम्पियन्स लिग जित्दा फाइनल खेलमा उनले बार्सिलोनाका लागि सुरुआती गोल गरेका थिए । त्यसबाहेक पनि बार्सिलोनाका लागि राकिटिकले केही चर्चित र महत्त्वपूर्ण गोल गरेका छन् ।

राकिटिकलाई १.५ मिलियन युरोमा बेचे पनि बार्सिलोनाले बोनसबापत थप रकम पाउनेछ । दुई क्लबीच भएको सम्झौताअनुसार यदि सेभिल्ला आगामी दुई सिजनभित्रमा सेभिल्ला च्याम्पियन्स लिगका लागि छनौट भए बार्सिलोनाले राकिटिकका नामबाट ८ मिलियन युरो बोनस रकम पाउनेछ । त्यसैगरी, राकिटिकले सेभिल्लाबाट जितेका उपाधिका आधारमा पनि बार्सिलोनाले थप रकम पाउनेछ । तर, यो दुई सिजनसम्मका लागि मात्रै लागू हुनेछ ।

बार्सिलोनाले बुधबार क्याम्प नोउ रंगाशालामा राकिटिकका लागि औपचारिक बिदाइ कार्यक्रम राख्दैछ । जहाँबाट राकिटिकको बिदाइ गरिनेछ । र, उनी अन्तिमपटक बार्सिलोनाको जर्सीमा पत्रकार सम्मेलनमा सहभागी हुनेछन् ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार १३:५०
Loading...