बार्यनको जर्सी लगाएपछि बार्सिलोनाबारे के–के भने कोउटिन्होले ?

एजेन्सी, भदौ २
जर्मन बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिखले हालै स्पेनिस बार्सिलोनाबाट लोनमा अनुबन्ध गरेका ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्होलाई आज सार्वजनिक गर्यो । उसले आज आफ्नो घरेलु रंगशालामा कोउटिन्होलाई सार्वजनिक गर्दै १० नम्बर जर्सीसमेत प्रदान गरेको छ ।

बार्सिलोनामा नियमित रूपमा खेल्न नपाएपछि कोउटिन्हो निराश हुँदै आएका थिए । प्रशिक्षक भाल्भर्डेले उनलाई प्राथमिकतामा राखेका थिएनन् । त्यसमा पनि गत सिजन उनले कमजोर प्रदर्शन गरेपछि बार्सिलोनाले उनलाई क्याम्प नोउबाट बिदा गरेको हो ।

बार्सिलोनाले आफ्ना २७ वर्षीय खेलाडीलाई एक सिजनका लागि लोनमा बार्यन पठाएको हो । यदि अर्को सिजन बार्यनले कोउटिन्होलाई १२० मिलियन युरोमा स्थायी रूपमा किनेन भने कोउटिन्हो बार्सिलोनै फर्किनेछन् । गत सिजन कोउटिन्होले बार्सिलेनाका लागि सबैखाले प्रतियोगिताबाट कूल ५४ खेल खेल्दै १६ गोलमा सहभागिता जनाएका थिए ।

बार्सिलोनामा खास गरी प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको गलत योजनाका कारण चम्किन नसकेका भनिएका कोउटिन्होले अब बार्यनमा राम्रो गर्ने अपेक्षा गरिएको छ । बार्सिलोनामा उनी निष्प्रभावी हुनुमा धेरैले प्रशिक्षकलाई मुख्य दोषी मानन्छन् ।

बार्यनको जर्सीमा सार्वजनिक हुँदै ब्राजिलियन कोउटिन्होले आफ्ना धारणा राखेका छन् । उनले पत्रकारका प्रश्नको जवाफ दिनेक्रममा बार्सिलोनाको सरुवा र त्यहाँका केही अनुभवसमेत बाँडे । बार्यनमा रहँदाका केही योजना र सपना पनि उनले सुनाए । कोउटिन्होका केही प्रमुख भनाइ यहाँ राखिएको छ –

म यहाँ आउन पाउँदा निकै खुसी छु । म नयाँ सहकर्मीसँग प्रशिक्षण गर्न र खेल्न उत्तिकै आतुर छु ।

मैले यहाँ निकै राम्रो स्वागत पाएँ । मलाई फ्यान र अफिसियलहरूले देखाएको सत्कारपूर्ण व्यवहार सुन्दर लाग्यो ।

स्पेनबाट यहाँ आउन मेरो सरुवाका लागि यो क्लबले ठूलो इच्छा देखायो । र, म विश्वको एक ठूलो क्लबमा सहभागी हुन यहाँ आइपुगें ।

म कहाँबाट खेल्छु भन्ने कुरा प्रशिक्षकले निर्णय गर्नेछन् । तर, मलाई मन परेको पोजिसन भनको १० नम्बर नै हो । यसको अर्थ आफ्नो पोजिसनलाई म न्याय गर्न सक्छु भन्ने विश्वास मलाई छ ।

मलाई आशा छ, म यहाँ लामो समयसम्म रहनेछु । र, टिमलाई प्रशस्तै उपाधि जिताउन योगदान दिनेछु ।

म एक महत्त्वकांक्षी व्यक्ति हुँ । म यहाँ उपाधि जित्न चाहन्छु । मैले यहाँ भएका मेरा चिनजानका साथीभाइसँग पनि यो कुरा बाँडेको छु ।

यो क्लब हरेक वर्ष युरोपियन च्याम्पियन्स लिग खेल्छ । म यो प्रतियोगिता खेल्न र जित्न चाहन्छु ।
०००

कोउटिन्होलाई पत्रकारले बार्सिलोनामा बिताएको समय र त्यहाँका उत्तारचढवाबारे पनि सोधे । ‘तपाईं किन बार्सिलोनामा जम्न सक्नुभएन ?’, ‘तपाईंलाई त्यहाँ प्रशिक्षकको सहयोग थिएन ?’ भन्ने प्रश्न सोध्दा कोउटिन्होले जवाफ दिएनन् । उनले पत्रकारलाई ती प्रश्न ‘स्किप’ गर्न अनुुरोध गरे । बार्सिलोनाबारे सोधिएका अन्य प्रश्नमा उनले भने–

इंग्ल्यान्डबाट स्पेन जाँदा पनि मसँग ठूला सपना थिए, जस्तो यहाँ आउँदाखेरिका छन् । त्यहाँ मैले करिअरको महत्त्वपूर्ण केही समय बिताएँ । क्लब बार्सिलोना र त्यहाँका सहकर्मीप्रति मेरो सम्मान छ ।

म यहाँ नियमित खेल्नका लागि आएको हुँ । म बेन्चमा बस्ने खेलाडी होइन । मलाई आफूमाथि विश्वास छ । यो विश्वास म यस क्लबमा साबित गर्न चाहन्छु । त्यसका लागि सबैबाट साथ पाउनेमा म ढुक्क छु ।

बार्सिलोनाजस्तो ठूलो क्लबका लागि खेल्नु ठूलो कुरा थियो, जहाँ विश्वका उत्कृष्ट खेलाडीहरू छन् । तर, तपाईं एक खेलाडी भएर यो उमेरमा खेल्न पाउनुहुन्न भने अवश्य पनि त्यसले निराश बनाउँछ ।

०००

प्रकाशित मिति २ भाद्र २०७६, सोमबार १५:४८
Loading...