नेसन्स लिगका लागि रोनाल्डोसहित पोर्चुगिज टोली प्रशिक्षणमा व्यस्त

काठमाडौं, भदौ १६
युइएफए नेसन्स लिग फुटबलका लागि साबिक च्याम्पियन पोर्चुगलले प्रशिक्षण थालेको छ । सुरुआती दुई खेलका पोर्चुगलले सोमबारदेखि आफ्नै देशमा सामूहिक प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा कप्तान क्रिस्टियानो रोनाल्डोसहितका सबै प्रमुख खेलाडी उपलब्ध छन् ।

पोर्चुगलले शनिबार राति पहिलो खेल सन् २०१८ को फिफा विश्वकपको उपविजेता टोली क्रोएसियासँग आफ्नै भूमिमा खेल्दै छ । त्यसपछि उसले दोस्रो खेल मंगलबार राति स्वीडेनसँग उसकै भूमिमा खेल्ने तालिका छ । यी दुई खेलपछि पुनः विश्राम हुनेछ ।

कप्तान रोनाल्डो अघिल्लो साता मात्रै बिदा सकाएर क्लब युभेन्टस पुगेका थिए । त्यहाँ मेडिकल तथा कोरोना भाइरसको जाँच सकाएर केही दिन प्रशिक्षण गरेपछि उनी राष्ट्रिय टोलीको खेलमा सामेल हुन पोर्चुगल फर्किएका हुन् । यसपटक सुरुआती दुई खेलमा लागि रोनाल्डोसहित इंग्लिस क्लब म्यानचेस्टर सिटीका जुआन कान्सेलो, सिटीकै बर्नान्डो सिल्भा, स्पेनिस एथ्लेटिको मड्रिडका जोआओ फेलिक्स, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेजसहितका प्रमुख खेलाडी टोलीमा डाकिएका छन् ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार ०९:५५
Loading...