मेस्सीको व्यवहारबाट बार्सिलोना क्रुद्ध : ‘कारबाही’ गर्ने तयारी !

काठमाडौं, भदौ १६
क्लब छाड्ने निर्णय गरेका स्पेनिस बार्सिलोनाका प्रमुख खेलाडी लिओनल मेस्सीमाथि क्लबले ‘एक्सन’ लिने भएको छ । स्पेनका अधिकांश मिडियाले रिपोर्ट छापेका छन्– ३३ वर्षका अर्जेन्टिनी फरवार्डमाथि क्लबले गम्भीर अनुशासनको कारबाही गर्ने तयारी गरेको छ । टोलीका कप्तानको व्यवहारबाट बार्सिलोना क्रुद्ध बनेर कारबाहीको कदम चाल्न लागेको हो ।

केही दिनअघि क्लब छाड्ने निर्णय ब्युरोफ्याक्समार्फत् क्लबलाई जानकारी दिएर क्लबका कुनै पनि कार्यक्रम तथा गतिविधिमा सामेल नभएपछि मेस्सीमाथि क्लबले कारबाही गर्ने भएको हो । ‘मार्सा’का अनुसार क्लबले मेस्सीलाई प्रि–सिजन मेडिकल जाँच तथा प्रशिक्षणमा सामेल नभएपछि ‘गम्भीर अनुशसान उल्लघंन गरेको’ निचोडसाथ १.१ मिलियन पाउन्ड रकम जरिमानाबापत तिराउने भएको छ । यो नेपाली रुपैयाँ १७ करोड २७ लाख रुपैयाँ हुन्छ । त्यस्तै, मेस्सीले बार्सिलोना नछाडे आगामी ३ खेलमा टोलीबाहिर रहनुपर्नेछ ।

क्लबको नियमअनुसार यदि क्लबलाई औपचारिक जानकारी नगराई बिनाकारण लगातार ३ दिनसम्म अनुपस्थित भएको खण्डमा २५ प्रतिशतदेखि एक महिनाको तलब जरिमानास्वरूप कटौती गर्न सक्ने नियम छ । मेस्सीले बार्सिलोनाबाट एक महिनामा १.१ मिलियन पाउन्ड कमाइ गर्छन् । मेस्सीले बार्सिलोनामा नियमित तलब, बोनस, उपाधि बोनस, व्यक्तिगत अवार्ड बोनस, खेल संख्याका आधारमा पाउने बोनससहित गरी एक वर्षमा ९५ मिलियन पाउन्ड कमाइ गर्छन् ।

मार्साले लेखेको छ– ‘यदि मेस्सी तेस्रो दिनसम्म पनि प्रशिक्षणमा अनुपस्थित रहे उनको एक महिनाको तलब १.१ मिलियन पाउन्ड जरिमानास्वरूप कटौती हुनेछ । अनुपस्थिति अवधि अझै लामो भए मोटो रकम जरिमाना साथै अनुशासनको गम्भीर कारबाही गर्ने तयारीमा क्लब छ ।’

दुई दिनअघि क्लबले सिनियर टोलीका खेलाडीलाई प्रि–सिजन प्रशिक्षणमा प्रवेश गर्नुअघि मेडिकल जाँच र कोरोना भाइरसको जाँचका लागि पूर्वनिर्धारित कार्यक्रम राखे पनि कप्तान मेस्सी उपस्थित भएनन् । क्लब छाड्ने निर्णयबाट पछि नहट्ने अडान कायम राख्दै उनी प्रि–सिजन कार्यक्रममा सामेल नभएका हुन् । तर, मेस्सीको त्यस्तो व्यवहारबाट क्लब रिसाएको छ ।

प्रकाशित मिति १६ भाद्र २०७७, मंगलवार ०६:५४
Loading...