कोउटिन्हो बार्यन पुग्दा ‘ट्रान्सफर मार्केट’मा दुर्लभ रेकर्ड !

एजेन्सी, भदौ २
जर्मन बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिखले हालै स्पेनिस बार्सिलोनाबाट लोनमा अनुबन्ध गरेका ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्होलाई आज सार्वजनिक गरेको छ । आज उसले २७ वर्षीय कोउटिन्होलाई औपचारिक रूपमा सार्वजनिक गर्दै १० नम्बर जर्सीसमेत दिएको छ ।

बार्यनले कोउटिन्होलाई एक सिजनका लागि लोन सम्झौतामा अनुबन्ध गरेको हो । सोबापत बार्यनले बार्सिलोनालाई ८.५ मिलियन युरो लोन फी तिर्ने पुष्टि गरेको छ ।

बार्सिलोना र बार्यनबीचको समझदारीअनुसार यदि अर्को सिजन बार्यनले चाहे कोउटिन्होलाई स्थायी रूपमै खरिद गर्न पाउनेछ । त्यसबेलाका लागि अहिले नै १२० मिलियन युरो मूल्यमा सम्झौतासमेत बनेको छ । यो कुरा बार्यनले अफिसियल रूपमै पुष्टि गरेको छ ।

बार्सिलोनाले कोउटिन्होलाई ढेड वर्षअघि इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा अनुबन्ध गरेको थियो । उनी बार्सिलोनाको इतिहासकै सर्वाधिक महँगा खरिद खेलाडी थिए । तर, गत सिजन उनले कमजोर प्रदर्शन गरेपछि बार्सिलोना उनको बिदा गर्न जुटेको थियो । गत सिजन कोउटिन्होले बार्सिलेनाका लागि सबैखाले प्रतियोगिताबाट कूल ५४ खेल खेल्दै १६ गोलमा सहभागिता जनाएका थिए ।

सरुवा बजारमा नयाँ रेकर्ड !

२७ वर्षीय ब्राजिलियन कोउटिन्हो बार्यन पुगेसँगै फुटबलको सरुवा बजारमा नयाँ रेकर्ड बनेको छ । कोउटिन्हो अब फुटबल इतिहासकै सर्वाधिक ठूलो मार्केट भ्यालु भएका ‘लोन खेलाडी’ बनेका छन् ।

‘ट्रान्सफर मार्केट’ले आजै सार्वजनिक गरेको एक रिपोर्टअनुसार कोउटिन्हो अब फुटबलको सरुवा बजारको इतिहासकै सबैभन्दा महँगो मार्केट भ्यालु भएका लोन खेलाडी बनेका हुन् । उनको हालको मार्केट भ्यालु ९० मिलियन युरो छ ।

यसअघि सरुवा बजारमा यति ठूलो मार्केट भ्यालु भएका कुनै पनि खेलाडी लोन सम्झौतामा एक क्लबबाट अर्को क्लब गएका थिएनन् ।

बार्सिलोनामा खास गरी प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको गलत योजनाका कारण चम्किन नसकेका भनिएका कोउटिन्होले अब बार्यनमा राम्रो गर्ने अपेक्षा गरिएको छ । बार्सिलोनामा उनी निष्प्रभावी हुनुमा प्रशिक्षकलाई मुख्य दोषी मानिन्छ ।

प्रकाशित मिति २ भाद्र २०७६, सोमबार १२:५९
Loading...