बार्सिलोनालाई जिदानले दिए यस्तो चुनौती

एजेन्सी, भदौ १
स्पेनिस रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो खास प्रतिस्पर्धी क्लब बार्सिलोनालाई चुनौती दिएका छन् । नयाँ सिजनअन्तर्गत ला लिगाको पहिलो खेल जितेपछि मिडियासँग कुरा गर्दै जिदानले घुमाउरो पारामा बार्सिलोनालाई चुनौती दिए ।

अघिल्लो दिन रियलले ला लिगाको पहिलो खेलमा अवे मैदानमा सेल्टा भिगोलाई १–३ ले हरायो । त्यसअघि बार्सिलोना अवे मैदानमा एथ्लेटिक बिल्बाओसँग १–० ले हारेको थियो ।

यो समाचार बनाउँदासम्म रियल ३ अंकसहित लिगको शीर्ष स्थानमा छ भने बार्सिलोना अंकविहीन हुँदै १८औं स्थानमा रहेको छ ।

‘पहिलो खेल र नतिजाबाट म खुसी छु । मेरा खेलाडीले राम्रो गरे । हामी पहिलो खेल जितेर जसरी पनि ३ अंक जोड्न चाहन्थ्यौं,’ जिदानले भने, ‘यो जितले हाम्रो नयाँ सिजनलाई नयाँ दिशा देखाएको छ ।’

पत्रकारले बार्सिलोनाको हार र ऊसँगको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा जिदानले घुमाउरो उत्तर दिए । ‘उनीहरू (बार्सिलोना) ले पहिलो खेल गुमाए । यो खास ठूलो कुरा होइन । उनीहरू साबिक च्याम्पियन हुन् र एक–दुई हारले फरक पार्दैन,’ जिदानले भने ।

जिदानले अघि थपे, ‘उनीहरूले पछिल्ला वर्षमा धेरैपटक लिग जितेका छन् । यसपटक पनि उनीहरू लिग जित्ने दौडमा छन् । ‘तर, हामी पनि यहाँ फुटबल नै खेलिरहेका छौं । बाँकी कुरा ३८औं खेलसम्म पुग्दा हेरौंला ।’

प्रकाशित मिति १ भाद्र २०७६, आईतवार १५:०९
Loading...