स्वारेजको चोटले बार्सिलोनालाई तनाव : कहिलेसम्म मैदानबाहिर ?

एजेन्सी, भदौ १
लगातार खेलाडीको चोटले स्पेनिस बार्सिलोना केही समस्यामा परेको छ । टोलीका कप्तान लिओनल मेस्सी ठीक भएर मैदान फर्किन नपाउँदै अर्का फरवार्ड लुइस स्वारेज पनि घइते भएका छन् ।

दुई दिनअघि ला लिगाको उद्घाटन खेलमा एथ्लेटिक बिल्बाओविरुद्ध खेलनेक्रममा घाइते भएका स्वारेजले कम्तीमा एक महिनाका खेल गुमाउनेछन् । खेलको ३३औं मिनेटमा स्वारेज चोट बोक्दै मैदान छाडेका थिए ।

क्लब बार्सिलोनाले स्वारेज काल्फ इन्जुरीबाट ग्रस्त भएको पुष्टि गरेको छ । बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण जाँचपछि स्वारेज काल्फ इन्जुरीबाट ग्रस्त भएको र उनले कम्तीमा चार हप्ता टोलीबाहिर रहने पुष्टि गरेको छ ।

क्लबले स्वारेजको मैदान फर्किने दिन उनको रिकभरीमा भर पर्ने उल्लेख जनाएको छ । बार्सिलोनाले अवे मैदानमा खेलेको सो खेल १–० ले हारेको थियो ।

बार्सिलोनाले ला लिगामा सिजनको दोस्रो खेल अगस्ट २५ मा क्याम्प नोउमा रियल बेटिसविरुद्ध खेल्नेछ । सो खेलमा कप्तान मेस्सी भने फर्किने प्रबल सम्भावना छ । स्वारेजले एक महिनाको बीचमा कम्तीमा तीन ला लिगाका खेल गुमाउनेछन् ।

प्रकाशित मिति १ भाद्र २०७६, आईतवार १०:०७
Loading...