मेस्सीलाई ‘फुटबल सिकेको क्लब फर्क’ भन्दै अर्जेन्टिनामा विशाल प्रदर्शन : हेरौं १२ तस्बिरमा

एजेन्सी, भदौ १२
क्लब छाड्ने निर्णय गरेका स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीलाई अर्जेन्टिनाका समर्थकले आफ्नै देश फर्किन अनुरोध गरेका छन् । सानो छँदा मेस्सीले फुटबल सिकेको क्लब न्युवेल्स ओल्ड ब्वाईजका समर्थकहरू अहिले मेस्सीलाई देश फर्किन अनुरोध गर्दै दिनहुँजसो सडक प्रदर्शन गरिरहेका छन् ।

न्युवेल्स मेस्सीले बाल्यकालमा फुटबल सिकेको क्लब हो । उनले ७ वर्षदेखि १३ वर्षको उमेरसम्म सोही क्लबमा रहेर फुटबल सिकेका थिए । उनले सो क्लबको उमेर समूहबाट विभिन्न प्रतियोगिता खेल्दै उपाधि पनि जितेका थिए । पछि सन् २००१ मा उनलाई बार्सिलोनाले भित्र्याएको थियो । मेस्सी त्यत्तिबेला मात्रै १३ वर्षका थिए ।

बार्सिलोना पुगेर एकेडेमीमा भर्ना भएका मेस्सीले क्याटलन क्लबमा अहिले २० वर्ष बिताइसकेका छन् । र, उनको उमरे अहिले ३३ वर्ष भयो । करिब–करिब सिंगो करिअर नै बार्सिलोनामा बिताएका मेस्सी यसपटक निकै खराब र पीडादायी अवस्थाबाट क्लब छाड्ने अवस्थामा पुगेका छन् । उनी पूर्वप्रशिक्षक पेप ग्वार्डिओला प्रशिक्षक रहेको इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने तयारीमा छन् ।

मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरेपछि उनको देशका फ्यानले मेस्सीलाई आफ्नै देश फर्किन अनुरोध गरेका छन् । फ्यानहरूले मेस्सीको घर भएको र क्लब भएको सहर रोजारियोमा दिनहुँजसो सडकमा प्रदर्शन गरिरहेका छन् । र, उनीहरूले मेस्सीलाई ‘फुटबल सिकेको क्लब फर्किन’ भन्दै अनुरोध गरेका छन् ।

मेस्सीलाई आफ्नो बाचा पूरा गर्न पनि फ्यानले भनेका छन् । विगतमा मेस्सीले विभिन्न अन्तर्वार्ताहरूमा आफूले करिअरको कुनै न कुनै समय सानो छँदा फुटबल सिकेको क्लब न्युवेल्सबाट खेलेर मात्रै सन्यास लिने बाचा गर्दै आएका छन् ।

फ्यानहरूले मेस्सी न्युवेल्सको जर्सीमा रहेको तस्बिर अंकित क्याप, ब्यानर, झन्डा र जर्सीसहित प्रदर्शन गरिरहेका छन् । सहरका भित्ता र सार्वजनिकस्थलमा मेस्सीलाई पुनः एक हुन अनरोध गर्दै देश फर्किन भनेका छन् । समर्थकहरूले ‘लियो, फुटबल सिकेको घर फर्क’, ‘अब आउने बेला भयो, ढिला नगर,’ ‘हामी तिमीलाई धेरै माया गर्छौं,’ ‘न्युवेल्स तिम्रो बाटो हेरिरहेछ,’ ‘अब नआए कहिले ?,’ जस्ता विभिन्न प्रेम दर्शाउने र अनुरोधसहितका ब्यानरहरू प्रदर्शन गरिरहेका छन् ।

हेरौं केही तस्बिरहरू :

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार १२:५७
Loading...