सिजनको पहिलो खेलमै हारेपछि भाल्भर्डे ‘खेलाडीसँग बेखुसी’ !

एजेन्सी, साउन ३२
स्पेनिस बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आफूहरूको सिजनको सुरुआत सुखद् हुन नसकेको भन्दै यसले राम्रो संकेत नगरेको बताएका छन् । गत राति बार्सिलोना सिजनो पहिलो खेलमा अवे मैदानमा एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित भएको थियो ।

अन्तिम समयमा गोल खाएर सिजनको पहिलो खेलमा पराजय भोगेपछि बार्सिलोनाका प्रशिक्षकले खेलपछि मिडियासँग प्रतिक्रिया दिए । सोक्रममा उनले आफ्ना खेलाडीले आफ्नो स्तर देखाउन नसकेको बताए । ‘हामी अवे मैदानमा थियौं । तर, हामीले यो खेलबाट ३ अंक गुमाउनु खराब नतिजा हो । हामी सबै अंक गुमाउन चाहँदैन थियौं,’ भाल्भर्डेले भने ।

भाल्भर्डेले खेलको दोस्रो हाफमा आफ्ना खेलाडीले खेलमा पकड राखे पनि स्कोर गर्न नसेको बताए । ‘दोस्रो हाफमा हामीले खेलमा नियन्त्रण राख्यौं । तर, गोल गर्न सकेनौं,’ भाल्भर्डेले भने, ‘मेरा खेलाडी नयाँ सिजनका लागि तयार देखिएनन् । म यो नतिजाबाट खुसी छैन ।’

भाल्भर्डेले यो सिजनको पहिलो खेल भए पनि यसले नयाँ सिजनको समग्र संकेत गर्ने बताए । ‘यो हारले हामी नयाँ सिजनमा कस्तो खेल्दैछौं भन्ने कुराको संकेत गर्छ, हाम्रा लागि यो राम्रो होइन,’ भाल्भर्डेले भने, ‘तर, यो सुरुआत हो । हामीसँग लिगको लामो यात्रा बाँकी नै छ ।’

भाल्भर्डेले कप्तान मेस्सी नभएकै कारण टिम हारेको भन्ने तर्क गलत रहेको बताए । ‘म मान्छु, मेस्सी हुँदा र नहुँदा टिमको प्रदर्शन र नतिजामा फरक पर्छ । तर, हामीसँग सबै एकसे एक खेलाडी छन्, मेस्सीबिना पनि हामी खेल र उपाधि जित्न सक्छौं,’ भाल्भर्डेले थपे ।

यो हारपछि बार्सिलोना अंकविहीन हुँदै लिगको सबैभन्दा पुछार २०औं स्थानमा रहेको छ । विजेता बिल्बाओ भने ३ अंकसहित लिगको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार ११:१८
Loading...