नेइमारका लागि पिएसजी र बार्सिलोनाबीच ‘वर्ल्ड रेकर्ड’ डिल हुँदै !

एजेन्सी, साउन २८
हाल फ्रेन्च क्लब पिएसजीसँग सम्झौतामा रहेका ब्राजिलियन स्टार नेइमार अनुबन्धका लागि पूर्वक्लब बार्सिलोना र रियल मड्रिड लागिपरेका छन् । त्यसमा पनि बार्सिलोना आफ्नो खास प्रतिस्पर्धी रियललाई पछि पार्दै आफ्ना पूर्वस्टार नेइमारलाई दोस्रोपटक क्याम्प नोउमा स्वागत गर्न लागेको छ ।

बार्सिलोनाले २५ वर्षका नेइमारलाई दुई वर्षअघि विश्वकीर्तिमानी २२२ मिलिन युरोमा पिएसजीलाई बेचेको थियो । तर, हाल २७ वर्ष पुगेका नेइमारलाई बार्सिलोना त्योभन्दा पनि बढी रकममा भित्र्याउन ठूलै संघर्ष गरिरहेको छ ।

सरुवा बजारमा पछिल्ला २४ घन्टाका बीचमा नेइमारका विष्यामा फरक–फरकखाले रिपोर्ट आइरहेका छन् । फ्रान्स र स्पेनका मिडिया रिपोर्टअनुसार बार्सिलोनाले नेइमारका लागि आफ्ना दुई खेलाडीसहित १०० मिलियन युरो दिन पिएसजीसँग प्रस्ताव गर्ने तयारी गरेको छ ।

खबरअनुसार बार्सिलोना नेइमारका लागि डेढ वर्षअघि इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गरेका ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो र क्रोएसियन मिडफिल्डर इभान राकिटिकसहित १०० मिलियन युरो रकम थप्न तयार छ ।

यो अवस्थामा दुई क्लबबीच डिल फाइनल भए नेइमारका लागि यो विश्वमै अझै ठूलो कीर्तिमानी रेकर्ड बन्नेछ । बार्सिलोनाले कोउटिन्होका लागि खर्चिएको १६० मिलियन युरो र राकिटिकका लागि सन् २०१४ मा खर्चिएको १८ मिलियन युरो गर्दा न्यूनतम् खेलाडीको मूल्यांकन मात्रै १७८ मिलियन हुन आउँछ ।

त्यसमा १०० मिलियन नगदसमेत थप्त नेइमारको मूल्य २७८ मिलियन हुन आउँछ, जुन इतिहासकै सर्वाधिक धेरै हुनेछ । यो बार्सिलोनाले नेइमार बेच्दा कमाएको भन्दा ५६ मिलियन युरो बढी हो ।

यता, ब्राजिलका केही मिडियाले भने नेइमार बार्सिलोना नेइमार फर्काउन कोउटिन्होसहित १०० मिलियन युरोको प्रस्ताव गर्न लागेको खबर छापेका छन् ।

यो बताइएको छ कि, दुई–तीन दिनभित्रमै नेइमारको विषयमा बार्सिलोना र पिएसजीबीच हुने–नहुने टुंगो लाग्नेछ । नेइमारले पिएसजीका लागि खेल्न छाडिसकेका छन् ।

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार १४:४९
Loading...