१०१ वर्षको उमेरमा अस्ताए राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौं, भदौ २
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज १०१ वर्षको उमेरमा उनले यस धर्तीबाट बिदा लिएका हुन् । उनका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी परेका राष्ट्रकविको आज मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

घिमिरे वि.सं. १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए । उनका ‘नव मञ्जरी’, ‘गौरी’ (शोककाव्य), ‘मालती मङ्गले, (गीतिनाटक), ‘हिमालपारि हिमालवारि’ (गीतिनाटक), ‘राजेश्वरी’, ‘इन्द्रकुमारी’, ‘राष्ट्रनिर्माता’, ‘किन्नर–किन्नरी’ (गीतसंगह्र) लगायत चर्चित कृति प्रकाशित छन् ।

घिमिरेको राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ र नारायणगोपालले गाएको ‘आजै र राति के देखें सपना’जस्ता गीत अमर गीतका रूपमा रहेका छन् ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई सरकारले ०६० साल असोज ९ गते राष्ट्रकविको उपाधिले सम्मान गरेको थियो । पछिल्ला वर्ष उनी पटक–पटक बिरामी पर्दै आएका थिए । घिमिरले एक शताब्दीभन्दा लामो आयु बाँचेर धर्तीबाट बिदा भए ।

प्रकाशित मिति २ भाद्र २०७७, मंगलवार १३:३८
Loading...