च्याम्पियन्स लिग जित्ने सम्भावनाबारे यसो भन्छन् पिके

एजेन्सी, साउन २५
स्पेनिस बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले गत सिजन युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलसँग भोगेको हारबाट पाठ सिकेर आफूहरूले नयाँ सिजनको तयारी गर्नुपर्ने बताएका छन् । हाल प्रि–सिजनका लागि अमेरिका टुरमा रहेका उनले मिडियासँग कुरा गर्दै लिभरपुलसँगको हारले आफूहरूलाई थप ऊर्जा मिलेको समेत बताए ।

‘गएको सिजन हामीले लिभरपुलसँग जुन हार भोग्यौं, त्यो हाम्रो कल्पनाभन्दा विल्कुल बाहिरको थियो । जब हामी घरबाट ३–० नतिजा लिए एनफिल्ड पुग्यौं, फर्किंदा हाम्रो हातरमा ४–० को हार थियो,’ पिकेले भने, ‘त्यो हार हामी सम्झिन चाहँदैनौं ।’

पिकेले नयाँ सिजनका ठूला उपाधि जित्न कसरी अघि बढ्ने भनेर अहिलेबाटै सोच्नुपर्ने बताए । ‘बार्सिलोना सधैं च्याम्पियन्स लिग जित्न चाहन्छ । यो हाम्रा लागि विशेष छ । किनभने, यो प्रतियोगिताको महत्त्व हामीलाई थाहा छ,’ पिकेले भने, ‘हामी हरेक सिजन यो प्रतियोगिता जित्न चाहन्छौं । तर, पछिल्ला चार वर्ष हामी फाइनल पुग्न सकेनौं ।’

पिकेले नयाँ सिजनमा बार्सिलोना यो उपाधि जित्न सक्ने प्रशस्तै आधार रहेको बताए । ‘हामीसँग नयाँ सिजनका लागि केही युवा र नयाँ खेलाडी छन् । हामीसँग विश्वकै उत्कृष्ट खेलाडी छन् । मलाई लाग्छ, हामी विगत वर्षझैं यसपटक पनि यस प्रतियोगितामा उपाधि दाबेदार हौं,’ पिकेले भने, ‘हामी यसपटक उपाधि जित्न सक्षम छौं । नयाँ खेलाडीले हामीलाई थप योगदान दिनेमा म आशावादी छु । तर, फेरि पनि सजिलो छैन । हामीले सानोभन्दा सानो गल्ती पनि नगरी अघि बढ्नु आवश्यक छ ।’

प्रकाशित मिति २५ श्रावण २०७६, शनिबार ११:०५
Loading...