क्वार्टरफाइनल पुगेका ८ टोलीको भन्दा रियल मड्रिड एक्लैको उपाधि धेरै !

काठमाडौं, साउन २७
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । यसपटक साबिक च्याम्पियन लिभरपुल अन्तिम १६ बाटै आउट हुँदा इटालियन युभेन्टस पनि अन्तिम १६ बाटै आउट भयो । त्योभन्दा पनि ठूलो कुरा, च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै कूल १३ पटक उपाधि जितेको स्पेनिस रियल मड्रिड पनि अन्तिम १६ बाटै आउट भयो ।

जिनेदिन जिदानको कमान्डमा रहेको रियल लगातार दोस्रो सिजन अन्तिम १६ बाट आउट भएको हो । गत सिजन उसलाई जुलेन लोपेटेगुई प्रशिक्षक हुँदा अन्तिम १६ बाटै डच क्लब आयाक्सले आउट गराएको थियो । च्याम्पियन्स लिगको राजा भनेर चिनिने रियलका लागि लगातार दुई सजन अन्तिम १६ बाटै आउट हुनु खराब अवस्था हो ।

सन् २०१६–१८ सम्म च्याम्पियन्स लिगमा ह्याट्रिक गरेर इतिहास रचेको रियललाई अब बाँकी सिजन मैदानमा देख्न पाइनेछैन । उसले यस सिजनको उपाधि अन्य टोलीलाई नै जिम्मा लगाइसकेको छ । पछिल्ला दुई सिजन लगातार आउट भए पनि रियलको नाममा कीर्तिमानी कूल १३ च्याम्पियन्स लिग उपाधि छँदै छ, जुन यो सिजन अन्तिम आठमा पुगेका ८ टोली सबैले जितेको भन्दा पनि बढी हो ।

हो, झट्ट सुन्दा यो निकै अपत्यारियालो लाग्न सक्छ । यो सिजन अन्तिम आठमा पुगेका ८ टोली सबैले जतिपटक च्याम्पियन्स लिग जितेका छन्, त्यो सबै जोड्दा रिल एक्लैले जितेको भन्दा पनि कम नै हुन्छ । यसर्थ पनि रियललाई मानिस च्याम्पियन्स लिगको राजा भन्ने गर्छन् । किनभने, रियलको कीर्तिमानी १३ च्याम्पियन्स लिग उपाधिको रेकर्डलाई भेट्न अझै अन्य क्लबलाई थुप्रै वर्ष लाग्न सक्छ । वा, यो रेकर्ड कहिल्यै नतोडिन पनि सक्छ ।

यो सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेका ८ टोलीमध्ये ६ टोलीले आजसम्म उपाधि नै जित्न सकेका छैनन् । यी ८ टोलीमध्ये पूर्वच्याम्पियन स्पेनिस बार्सिलोना र जर्मन बार्यन म्युनिख मात्रै हुन् । बाँकी ६ टिमले आजसम्म च्याम्पियन्स उपाधि नै जित्न सकेका छैनन् ।

अन्तिम आठमा पुगेका टोलीको च्याम्पियन्स लिग उपाधि संख्या :

रियल मड्रिड – १३

बार्यन म्युनिख – ५
बार्सिलोना – ५

एथ्लेटिको मड्रिड – ०
म्यानचेस्टर सिटी – ०
पिएसजी – ०
एटलान्टा – ०
लेइपजिग – ०
लियोन – ०

प्रकाशित मिति २७ श्रावण २०७७, मंगलवार ०७:५६
Loading...