राकिटिक बार्सिलोना बस्छन् कि बस्दैनन् मलाई थाहा छैन : प्रशिक्षक

एजेन्सी, साउन २५
स्पेनिस बार्सिलोनाका कोच अर्नेस्टो भाल्भर्देले आफ्ना मिडफिल्डर इभान राकिटिकको भविष्यबारे अन्योलपूर्ण अभिव्यक्ति दिएका छन् । प्रि–सिजनअन्तर्गत इटालियन नापोलीसँग दोस्रो खेल खेल्नुअघि पत्रकारसँग कुरा गर्दै उनले क्रोएसियन स्टार नयाँ सिजन बार्सिलोनामा रहने वा नरहने भन्नेमा आफूलाई जानकारी नरहेको बताए ।

घुमाउरो पारामा भाल्भर्देले राकिटिकलाई क्लबले बेच्न सक्ने संकेत गरे । बार्सिलोनाले राकिटिकलाई इटालियन क्लबलाई बेच्न सक्ने चर्चा छ । पत्रकारले सोधेको प्रश्नमा उनले राकिटिकको सरुवाको सम्भावना रहेको संकेत गरे ।

‘उनी हाम्रा लागि ज्यादै महत्त्वपूर्ण सदस्य हुन् । उनले टिमलाई सधैं योगदान दिन्छन् । पछिल्लो खेलमा पनि उनले टिमलाई जिताउन गोल गरे,’ भाल्भर्देले भने, ‘तर, उनी नयाँ सिजन बार्सिलोनामै हुन्छन् वा हुँदैनन्, यसबारे मलाई थाहा छैन ।’

प्रकाशित मिति २५ श्रावण २०७६, शनिबार ०३:४१
Loading...