‘तुइनमुक्त नेपाल’मा तुइनबाट खसेर एक युवती बेपत्ता

लमजुङ, साउन २०
सरकारले नेपाललाई तुइनमुक्त भनेर घोषणा गरेको आधा दशक भइसकेको छ । तर, देशमा विभिन्न भागमा अझै पनि तुइनबाट चुँडिएर सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । फेरि यस्तै घटना लमजुङ जिल्लामा भएको छ । त्यहाँको दोर्दी खोलामा एक युवती तुइनाट खसेर बेपत्ता भएकी छन् ।

दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६, सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाका अनुसार बेपत्ता महिलालाई अझैसम्म फेला पार्न सकिएको छैन ।

डिएसपी थापाका अनुसार बेपत्ता महिलाको खोजीका लागि दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालन गरिएको छ । तर, अहिलेसम्म फेला पार्न सकिएको छैन । प्रहरीले खोजी कार्य जारी राखेको छ । स्थानीयले तुइन चुँडिएको स्थानबाट करिब ५ सय मिटर तलसम्म महिलालाई बगेको देखेको बताएका थिए ।

फूलमायासँगै तुइनमा चढेका १७ वर्षीय विकास घले भने चुँडिएको डोरी समातेर खोलाबाट बाहिर निस्कन सफल भएका थिए । उनीहरू जनैपूर्णिमाको दिन जलकन्यादेवी मन्दिरमा पूजा गर्न जाँदै थिए । यो घटना सोमबार दिउँसोको भएको प्रहरीले जनाएको छ ।

नेपालमा एकै महिनामा तुयनबाट खसेर २ जनाको ज्यान गइसकेको छ । यसअघि पनि मकवानपुरमा तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको ज्यान गएको थियो ।

प्रकाशित मिति २० श्रावण २०७७, मंगलवार ०४:४४
Loading...