मेस्सी भित्र्याउन इन्टर मिलान ‘पैसाको खोलो’ बगाउन तयार : ‘बम्पर अफर’मा के–के छन् ?

एजेन्सी, साउन १७
इटालियन क्लब इन्टर मिलान स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी भित्र्याउन पैसाको खोलो बगाउन तयार रहेको रिपोर्ट बाहिरिएको छ । इटालियन तथा स्पेनिस मिडियाले यस खबरलाई ‘हट न्युज’ बनाएर प्रकाशित गरिरहेका छन् । हाल ३३ वर्ष पुगेका अर्जेन्टिनी फरवार्डको बार्सिलोनासँग नयाँ सिजन २०२०–२१ को अन्त्यसँगै सम्झौता सकिँदैछ ।

नयाँ सिजनको अन्त्यसँगै मेस्सीले फ्रि ट्रान्सफरमा क्लब छाड्न पाउनेछन् । अर्थात्, उनलाई भित्र्याउन क्लबले पैसा तिर्नुपर्ने छैन । यही मौकाको फाइदा उठाउन मिलान आतुर देखिन्छ । यदि जारी सिजन बार्सिलोना च्याम्पियन्स लिगमा असफल भए र नयाँ सजन पनि ठूला उपाधि जित्न नसके मेस्सीले क्लबसँग सम्झौता नवीकरण नगर्ने पक्का छ । त्यो बेला मिलानले मेस्सीलाई ‘ड्रिम प्लान’का रूपमा इटाली भित्र्याउन चाहेको छ ।

रिपोर्टअनुसार मिलानले मेस्सीलाई चार वर्षसम्मका लागि प्याकेजमा २६० मिलियन युरो तलब–सुधिवा दिएर अनुबन्ध गर्न प्रस्ताव गर्ने तयारी गरेको छ । ऊ चार सिजनका लागि एकसाथ सुरुमै सम्झौता गर्न तयार छ ।

पछिल्लो समय मिलान आर्थिक रूपमा निकै मजबुत बनेको छ । र, मिलानका अध्यक्ष स्टिवन झाँगा मेस्सीका ठूला फ्यान भएकाले पनि उनले मेस्सीलाई अनुबन्ध गर्न ठूलो रकम खर्च गर्न मार्गप्रशस्त गर्न तयार छन् । यो बताइएको छ कि, मिलान युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई दिनेभन्दा मेस्सीलाई निकै आकर्षक तलब–सुविधा दिएर अनुबन्ध गर्न तयार छ ।

रिपोर्टअनुसार यदि मेस्सीले बार्सिलोना छाडे उनलाई प्रतिसिजन ५० मिलियन युरोसम्म सुविधा दिन मिलान तयार छ । र, ऊसँगको त्यो क्षमता पनि छ । युभेन्टसले रोनाल्डोलाई अहिले प्रतिसिजन ३२ मिलियन युरो तलबापत दिँदै आएको छ । रिपोर्टहरूमा मेस्सीका प्रतिनिधि र मिलानका अधिकारीबीच छलफल चलिरहेको दाबी गरिएको छ ।

प्रकाशित मिति १७ श्रावण २०७७, शनिबार १२:३९
Loading...