म्यानचेस्टर सिटीलाई जिदानको रातो बत्ती– ‘हामी रियल मड्रिड हौं’

एजेन्सी, साउन १७
स्पेनिस क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले आफूहरू च्याम्पियन्स लिगको तयारीमा दृढतासाथ लागेको बताएका छन् । उनले आफूहरूको अहिलेको एक मात्रै लक्ष्य भनेको अन्तिम १६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध पुनरागमन गर्नु रहेको बताएका छन् । ‘मार्सा’सँग कुरा गर्दै जिदानले ला लिगा च्याम्पियन बनेपछि आफूहरूमाथि थप दबाब बढेको बताए ।

‘ला लिगा च्याम्पियन बनेपछि हाम्रा सामु अब नयाँ लक्ष्य र चुनौती छ । हामीले अहिले धेरै कुरा सोचिरहेका छैनौं । पहिलो लक्ष्य भनेको च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध पुनरागमन गरेर अर्को चरण जानु हो,’ जिदानले भन, ‘हाम्रो दिमागमा अहिले यति मात्रै छ । अन्तिम आठमा पुगेपछि हामी अगाडिका कुरा सोच्नेछौं ।’

जिदानले ला लिगा जितेपछि आफूहरू उच्च मनोबलमा रहेको बताउँदै सिटीविरुद्ध त्यही मनोबल प्रयोग गरेर खेल्ने बताए । ‘सिटीको घरमा जाँदा हामी ला लिगा च्याम्पियन मनोबल लिएर जानेछौं । हामी त्यहाँ पुनरागमनका लागि कुनै पनि कसर बाँकी राख्ने छैनौं,’ जिदानले भने, ‘हामी रियल मड्रिड हौं, पुनरागमन कसरी गर्नुपर्छ भनेर हामीलाई थाहा छ ।’

अन्तिम १६ मा यसअघि भएको पहिलो लेगमा सिटीले रियललाई उसैको घरमा १–२ ले हराएको छ । अब दोस्रो लेग सिटीको घरमा ६ दिनपछि अगस्ट ७ तारिखमा हुँदैछ । सो खेलमा रियलले पहिलो लेगको नतिजा उल्टाउनुपर्ने हुन्छ । तर, सिटीलाई ०–१ ले हारे पनि अर्का चरण जान काफी हुनेछ ।

प्रकाशित मिति १७ श्रावण २०७७, शनिबार ०३:३८
Loading...