गोल्डेन बुटका लागि अन्तिम संघर्ष : रोनाल्डोले लिगको अन्तिम खेल पनि खेल्ने

एजेन्सी, साउन १६
इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरी ए लिगमा सिजनको अन्तिम खेल पनि खेल्ने भएका छन् । लिगको अन्तिम खेल युभेन्टसले भोलि (शनिबार) रोमासँग खेल्दैछ । यसअघि अन्तिम २ खेल बाँकी छँदै उपाधि च्याम्पियन बनेको युभेन्टसले घरेलु मैदान एलिनाज रंगशालामा रोमासँग खेल्दै सिजन बिट मार्नेछ ।

भोलि सो खेलपछि युभेन्टसलाई घरेलु मैदानमा यस सिजनको उपाधि पनि प्रदान गरिनेछ । युभेन्टस यसअघि नै च्याम्पियन बने पनि उपाधि सेलिब्रेसन गरेको छैन । भोलिको खेलपछि उसले घरेलु रंगशालामा उपाधि लिएर सेलिब्रेसन गर्नेछ ।

सो खेलमा युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि खेल्ने भएका छन् । जारी सिजन ३५ वर्षका रोनाल्डो अझै पनि युरोपियन गोल्डेन बुटका लागि संघर्ष गर्न तयार छन् । अन्तिम खेल रोमाविरुद्ध खेलेर गोल्डेन बुटका लागि उनी अन्तिम प्रयसा गर्ने तयारीमा छन् ।

सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै युभेन्टसका प्रशिक्षक सार्रीले रोनाल्डो अन्तिम खेल खेल्न तयार रहेको बताए । ‘क्रिस्यिानो रोामासँग खेल्न चाहन्छन् । यो उनको निर्णय हो । तर, हामीले निर्णय गरिसकेका छैनौं । यदि उनी म खेल्छु भन्छन् भने खेल्छन्, उनीसँग अझै केही खास लक्ष्य छन्,’ सार्रीले भने ।

हाल लाजियोका सिरो इम्मोबाइल कूल ३५ गोलसहित गोल्डेन बुटमा सबैभन्दा अगाडि छन् । उनीपछि एक खेल बाँकी नै रहेकाले रोनाल्डो अझै पनि दौडमा छन् । अब अन्तिम खेलमा रोनाल्डोलाई सिरोको गोलसँग बराबरी गर्न ४ गोल र सिरोलाई उन्छिन्न आवश्यक ५ गोल कठिन हुने भए पनि रोनाल्डो प्रयास गर्ने तयारीमा छन् ।

रोनाल्डो अझै सिरोसँग गोल संख्या बराबरी गरेर भए पनि संयुक्त रूपमा गोल्डेन बुटमा जित्न चाहन्छन् । यदि भोलि रोमाविरुद्ध घरेलु मैदानमा उनले कम्तीमा ४ गोल गर्न सके र अर्को खेलमा लाजियो र नापोली भिड्दा सिरोले गोल गर्न सकेनन् भने दुवैको समान ३५–३५ गोल भई दुवैलाई गोल्डेन बुट दिइन्छ ।

तर, रोनाल्डोले अन्तिम खेलमा ४ गोल गरेर मात्र हुँदैन, अर्को खेलमा लाजियोका सिरो गोलविहीन पनि हुनुपर्छ । यसो भए मात्रै रोनाल्डोको दाउ पूरा हुनेछ । सिरोले गोल गर्न नसकेको खण्डमा पनि रोनाल्डोका लागि यो ज्यादै कठिन हुनसक्छ । तर, असम्भव नै भने होइन ।

जारी सिजन रोनाल्डोले लिगमा ३१ गोल गर्दा समग्रमा ४६ गोल गरेका छन् । वर्ष २०२० मा मात्रै उनले कूल २३ गोल गरेका छन् । उनी यस वर्ष २३ गोलसहित सर्वाधिक गोलकर्ता छन् । उनीपछि बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की २१ गोलसहित दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति १६ श्रावण २०७७, शुक्रबार १५:३६
Loading...