धुर्मुस–सुन्तलीले बनाउने फिल्मको नाम ‘सेन्टी भाइरस’ !

काठमाडौं, साउन २३
चर्चित हाँस्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले फिल्म निर्माणको घोषणा गरेका छन् । उनीहरूको फिल्मको नाम ‘सेन्टी भाइरस’ रहने निर्माण पक्षले औपचारिक रूपमा घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी फिल्म निर्माणको घोषणा गरिएको छ । सो फिल्मको निर्देशन रामबाबु गुरुङले गर्ने पक्का भएको छ ।

निर्माण पक्षका अनुसार फिल्मको सुटिङ ३५ दिनमा सकाइनेछ । सुटिङ भदौ ३ देखि सुरु हुने पनि निर्माण पक्षले जनाएको छ । फिल्मको अधिकांश दृश्य कास्कीको रूपाकोटमा खिचिने बताइएको छ ।

फिल्ममा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय रहनेछ ।

कुमार कट्टेल र दीपक आचार्यको लेखनमा निर्माण हुने सिनेमामा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पाश्र्वसंगीत रहनेछ ।

फिल्म घोषणा कार्यक्रममा सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने सीताराम कट्टेलले बताए ।

प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार ०३:३८
Loading...