नेपाली फुटबल टिमलाई दुई साता क्वारेन्टिनमा राखिने

काठमाडौं, साउन ९
नेपालको राष्ट्रिय फुटबल टिमलाई दुई सातासम्म क्वारेन्टिनमा राखिने भएको छ । फुटबल गतिविधिमा फर्किनुअघि कोरोना भाइरस संक्रमणको त्रासबाट बच्न सिनियर टोलीका सबै खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्वारेन्टिनमा राख्न लागेको हो । विश्वकप छनौटका लागि तयारीमा जुट्नुअघि खेलाडीलाई क्वारेन्टिनमा राखिने भएको हो ।

नेपाली राष्ट्रिय टिम अहिले प्रशिक्षण थाल्ने तयारीमा छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सम्पूर्ण फुटबल गतिविधि गत चैत महिनादेखि नै ठप्प छ । यसैबीच, एन्फाले राजधानी तथा बाहिर रहेका राष्ट्रिय फुटबल टिमका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिँदै क्वारेन्टिनमा राख्ने तयारी थालेको हो । राष्ट्रिय फुटबल टिमका सबै पुरुष खेलाडीलाई साउन १७ गतेसम्म काठमाडौं आइसक्न एन्फाले भनेको छ ।

त्यसपछि साउन १७ गतेदेखि ३० गतेसम्म प्रशिक्षण थाल्नुअघि सबै खेलाडीलाई क्वारेन्टिनमा राखिनेछ । खेलाडीलाई कुनै होटलमा क्वारेन्टिनमा राखेर कोरोना जाँचपछि मात्रै एन्फा होस्टेलमा सार्ने तयारी छ । हाल आफ्नो देश स्वीडेनमा रहेका प्रमुख प्रशिक्षक योहान कालिनलाई पनि नेपाल बोलाइसकिएको छ ।

एन्फाको निर्णयअनुसार फुटबल टिमले भदौ १ गतेदेखि प्रशिक्षण थाल्नेछ । प्रशिक्षण सातदोबाटोमा रहेको एन्फा कम्पलेक्समा हुनेछ । क्वारेन्टिन अवधि पूरा भएपछि सबै खेलाडी, प्रशिक्षक, अफिसियल र कर्मचारीको पिसिआर जाँच गरेर कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै प्रशिक्षण थालिनेछ ।

प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार ०३:४२
Loading...