भाइको निधनपछि राजेश हमालले भावुक सन्देश लेख्दै सेयर पुराना तस्बिरहरू

काठमाडौं, साउन ८
नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमालले आफ्ना भाइ राकेश हमालको निधन भएपछि भाइलाई सम्झिँदै पुराना तस्बिरहरू सार्वजनिक गरेका छन् । उनका भाइ राकेश हमालको हिजो (बुधबार) भारतमा उपचारक्रममा निधन भएको थियो । भाइको निधनपछि हमालले सामाजिक सन्जाल फेसबुकमार्फत् भाइको यादमा भावुक पोस्ट गरे ।

हमालले भाइको मृत आत्माको शान्तिको कामना गर्दै उनीसँगका बाल्यकाल तथा तिहारमा भाइटीका लगाउँदै गर्दाका तस्बिर सेयर गरेका छन् । उनले तस्बिरसँग लेखेका छन्– ‘गुड बाई डियर काकु । तिम्रो आत्मालाई सधैं शान्ति मिलिरहोस् ।’

कलेजोको समस्यासँग जुधिरहेका राकेशलाई केही दिनअघि मात्रै उपचारका लागि भारत लगिएको थियो । उनलाई प्लेन चार्टड गरेर भारत लगिएको थियो । तर, उनको उपचारक्रममै निधन भएको हो । राकेश राजेशभन्दा मात्रै डेढ वर्ष कान्छा थिए । राकेश र राजेशको परिवार काठमाडौंमा एकै घरमा रहँदै आएका थिए । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।

राजेशले फेसबुकमा सेयर गरेका तस्बिर :

 

 

प्रकाशित मिति ८ श्रावण २०७७, बिहीबार १४:३४
Loading...