कोरोना छिचोल्दै सार्वजनिक यातायात चलाउने व्यवसायीको निर्णय

काठमाडौं, साउन ६
कोरोना भाइरसका कारण लामो समयदेखि जारी लकडाउनका कारण सार्वजनिक यातायात ठप्प रहेको अवस्थामा यातायात व्यवसायीले साउन ८ गतेदेखि सवारी चलाउने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले आज संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात चलाउने घोषणा गरेका हुन् ।

यसअघि नेपाल सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र मात्रै कार्यान्वयन हुने गरी सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, व्यवसायीले सरकारले निर्णय गरे पनि यातायात चलाउन मानेका थिएनन् ।

तर, आज व्यवसायीको संगठनले पत्रकार सम्मलेन गर्दै आफूहरूसँग आबद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई सार्वजनिक सवारी साधन चलाउन आह्वान गरेको छ । तर, सार्वजनिक सवारी चलाउँदा कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सबैखाले सतर्कता अपनाउन र सामाजिक दूरी कायम गर्न अपिल गरिएको छ ।

प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १०:३२
Loading...