भिडियो सन्देश सार्वजनिक गर्दै राजेश हमालले भने– ‘दीपाश्रीलाई माफी दिनुहोस्’

काठमाडौं, असार ३१
‘राजेश हमाल महानायक हुन् कि होइनन्’ भन्ने विषयलाई लिएर आलोचनामा तानिएकी हाँस्यकलाकार दीपाश्री निरौलालाई माफी दिन महानायक राजेश हमालले आग्रह गरेका छन् । उनले सामाजिक सन्जाल फेसबुकमार्फत् एक भिडियो सन्देश सार्वजनिक गर्दै दीपाश्री र आफ्नो विषयमा जारी विवादबारे भनाइ राखेका हुन् ।

उनले दीपाश्रीको नाम नलिईकनै ‘सम्बन्धित व्यक्ति’ भन्दै माफी दिन आफ्ना फ्यानहरू, अन्य कलाकार तथा सबै पक्षसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सन्देश पोस्ट गर्दै महानायक हमालले भनेका छन्, ‘मेरो अनुरोध छ कि– यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’

केही समयअघि दीपाश्रीले एक अन्तर्वार्ताक्रममा ‘राजेश हमाल महानायक हुन् र’, ‘उहाँ अहिले हुनुहुन्छ र ?’ भन्दै अपमानजनक धारणा राखेपछि दीपाश्रीमाथि राजेश हमालका फ्यान मात्रै नभएर सिने क्षेत्रका कलाकार नै खनिएपछि विवाद झन् चर्किएको थियो । सो विषयलाई लिएर दीपाश्रीको सर्वत्र आलोचाका साथै उनी खराब ट्रोलको सिकार हुँदै आएकी थिइन् । भलै, दीपाश्रीले सार्वजनिक रूपमा आफूबाट गल्ती भएको भन्दै माफीसमेत मागिसकेकी छन् ।

सो विषय सेलाउने छाँटकाँट नदेखिएपछि महानायक हमालले नै दीपाश्रीलाई माफी दिन आग्रह गरेका हुन् । आफ्नो भनाइ राख्दै उनले एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधैं प्रेरित गर्न पनि दर्शकसँग अपिल गरेका छन् । ‘यहाँहरूबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरूलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरूलाई प्रेरित गर्दै गर्नुहोला,’ हमालले भनेका छन् ।

त्यत्ति मात्रै हैन, महानायक हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न विवादमा फसेको भन्दै दुःख समेत व्यक्त गरेका छन् । ‘मलाई लक्षित गरेर कसैले आफ्नो भनाइ राख्नुभयो । भनाइ सुनिसकेपछि ठाडो प्रतिक्रियाहरू आएका छन् । तर, अर्को तहबाट हेर्दा, हामीले हेर्यौं भने के एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचिले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासि झट्ट प्रतिक्रिया दिँदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सही होला र ?’

हमालले कला क्षेत्र दर्शकको पनि भएको भन्दै आफूहरू मैदानमा उत्रिएको सुनाए । ‘यो कला क्षेत्र हामी केहीको मात्र होइन, दर्शकको पनि हो । मैदानमा हामी उत्रिन्छौं, हामी मेहनत गर्छौं । तर, यसको पछाडि ऊर्जा दर्शकबाटै प्राप्त हुन्छ । तपाईंहरूको भूमिका हाम्रो कला र सिर्जनामा अत्यन्तै ठूलो छ,’ हमालले भने भनेका छन्, ‘हामी सबैले सकारात्मक सोच राखौं, एक अर्काको भूमिका र योगदानको सम्मान गरौं ।’

त्यसैगरी, हमालले दीपाश्रीको भनाइलाई लिएर आफूले कुनै प्रतिशोध नसाँचेको र त्यसलाई सामान्य ढंगले नै लिएको बताएका छन् । उनले यस्ता कुरा भुलेर आफूले सबैसँग मिलेर रहने र काम गरिरहने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति ३१ असार २०७७, बुधबार ०३:५७
Loading...