भारतीय अभिनेता अमिताभ–अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २८
भारतका सुप्रसिद्ध अभिनेता अमिताभ बच्चन र उनका छोरा समेत रहेका अभिषेक बच्चन दुवै कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । बाबुछोरा दुवैले आफूहरू कोरोनाबाट संक्रमित भएको सामाजिक सन्जालबाट पुष्टि गरेका छन् । फिल्मी उद्योगका दुई ठूला हस्तीहरू संक्रमित भएपछि अन्य कलाकार र फ्यानले पनि स्वास्थ्य लाभको कामना गरेका छन् ।

गत राति नै अमिताभ बच्चन र अभिषेक बच्चन दुवैले सामाजिक सन्जाल ट्वीटरमार्फत् जानकारी दिँदै कोरोनाबाट संक्रमित भएको पुष्टि गरेका छन् । दुवैलाई ट्वीटरमा हजारौं शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन् । त्यसमा बलिउडका कलाकारदेखि पत्रकार, खेलाडी, राजनीतिककर्मी र सर्वसाधारणलगायत स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

ट्वीटरमा अमिताभ बच्चनका ४ करोड ३० लाखभन्दा बढी र अभिषेक बच्चनका डेढ करोडभन्दा बढी फलोअर छन् । दुवैले आफ्ना फ्यानहरूलाई नआत्तिन पनि अनुरोध गरेका छन् । अभिषेक ४४ वर्षका छन् भने अमिताभ ७७ वर्षका छन् । अब उनीहरू दुवैको दोस्रो जाँचको रिपोर्ट आइतबार आउनेछ ।

पछिल्ला खबअनुसार अभिषेककी श्रीमती ऐश्वर्या राय र छोरी आराध्य बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सबै परिवारका सदस्यालाई अस्पतालमा राखेर उपचार थालिएको छ ।

प्रकाशित मिति २८ असार २०७७, आईतवार १०:२६
Loading...