दीपाश्री निरौलालाई महानायक हमालले यसरी दिए ढुंगाको जवाफ फूलले ……

काठमाडौं, असार २५
पछिल्लो समय नेपाली फिल्मी उद्योग गतिविधिका हिसाबले सुनसान रहे पनि केही गसिप चर्चामा छन् । केही विवाद र बहस चर्को रूपमा चलिरहेका छन् । त्यसमध्ये एक महानायक राजेश हमालको अपमानजनक ढंगले आलोचना गर्ने हाँस्यकलाकार तथा निर्मात्री दीपाश्री निरौला चर्को आलोचनाको घेरामा रहेको विषय अहिले केन्द्रमा छ ।

पछिल्ला वर्ष हाँस्यकलाकार दीपकराज गिरीसँग मिलेर ‘छक्कापञ्जा’ फिल्मका शृंखला बनाएर राम्रै व्यापार गरेकी दीपाश्रीले केही दिनअघि प्राइम टिभीबाट प्रशारण हुने फिल्मी कार्यक्रममा अन्तर्वार्ता दिनेक्रममा महानायक हमालप्रति टिप्पणी गरेकी थिइन् । उनले विवादास्पद भनाइ राखेपछि सो विषयले अहिले फिल्मी उद्योग नै गर्माएको छ । कलाकार निरौलाले पछिल्लो समय महानायक हमालको उपस्थिति शून्य रहेको भन्दै उनलाई दिएको ‘महानायक’ उपाधिको नै बेइज्जत भएको आशयमा भनाइ राखेकी थिइन् ।

अन्तर्वार्ताक्रममा उनले भनेकी थिइन्, ‘महानायक पनि हुनुहुन्छ र ? उहाँलाई महानायक बनाइयो, त्यसमा पनि अहिले हमाल हुनुहुन्छ जस्तो लाग्दैन । हो, हिजो उहाँ हुनुहुन्थ्यो तर आज हुनुहुन्छ जस्तो त लाग्दैन । अमिताभ बच्चन त आज पनि अभिनयमै हुनुहुन्छ । तर, राजेश दाइ खोई ?’

दीपाश्रीको यस्तो भनाइपछि राजेश हमालका देश–विदेशमा रहेका फ्यानदेखि लिएर फिल्मी क्षेत्रकै अग्रज तथा नयाँ पुस्ताका सबैजसो कलाकार दीपाश्रीविरुद्ध खनिएका छन् । सबैजसो कलाकारले दीपाश्रीले आफ्नो हैसियत भुलेर लामो समय नेपाली फिल्मी उद्योगलाई काँधमा बोकेर हिँडेको व्यक्तिको आलोचना गर्नु अहंकार र घमण्डीपना भएको भन्दै फ्यानदेखि कलाकारसमेत उनीमाथि खनिनेक्रम जारी छ । दीपाश्री निकै फोहोरी र नराम्रा ट्रोलको पनि सिकार भइरहेकी छिन् ।

सोही विषयमा महानायक राजेश हमालले एक अन्तर्वार्ताक्रममा बोल्दै दीपाश्रीको आलोचनाप्रति नाम नलिई सभ्य भाषामा जवाफ दिएका छन् । उनले आफ्नो २५ वर्ष लामो अभिनय यात्राले नै नेपाली चलचित्र उद्योगको आधार तयार गरेको हुँदा पछिल्लो समयमा आएर आफ्नो आलोचना गरिनु फितलो अभिव्यक्ति रहेको बताएका छन् । हमालले दीपाश्रीको अपमानजनक भनाइप्रति सभ्य र नरम उत्तर दिँदै भनेका छन्– ‘मेरो करिअरको सुरुआतमा नेपाली चलचित्र उद्योगको जुन अवस्था थियो, त्यो आफैंमा मननयोग्य छ । एकपछि अर्को चलचित्र बन्ने आशा समेत शून्य भएको समयबाट करियर सुरु गरेको र पछि कैयौं फिल्ममा अभिनय नगरेको भए हाम्रो सिनेमा उद्योग यहाँसम्म आइपुग्नेमा शंका थियो ।’

हमालले आफूले हरेक चलचित्र निर्माता तथा निर्देशकको आग्रहलाई स्वीकार गर्दै, सकेसम्म धेरै चलचित्रमा समय दिएर नै थुप्रै चलचित्रकर्मीहरूको जन्म भएको र आज फिल्मी उद्योग यहाँसम्म आइपुगेकाले विगतलाई कसैले पनि भुल्नु भनेको अध्ययनको अभाव रहेको बताएका छन् । दीपाश्रीको भनाइप्रति संकेत गर्दै हमालले भनेका छन– ‘मलाई लाग्दैन कि, त्यो बेला धेरै चलचित्रमा काम गरेर वा म आफूले छनौटका आधारमा चलचित्रमा काम नगरेर गल्ती गरें । बरु, जसले मेरो विरोधमा आवाज उठाउनुभएको छ, उहाँ आफैंले सोेचे हुन्छ कि, त्यो बेला राजेश हमालले चलचित्र वा कलाकार छनौट गरिदिएको भए चलचित्र ‘गाउँले’ र त्यसको गीत ‘गोली सिसाको’मा उहाँले अवसर पाउने अवस्था हुन्थ्यो जस्तो लाग्दैन । आज उहाँको परिचयको परिधि यति बृहत् बन्थ्योजस्तो पनि लाग्दैन । ’

राजेश हमालले आफ्नो आलोचना गर्ने दीपाश्रीले आफ्नो सम्मान वा तारिफ गर्नैपर्छ भन्ने नभएको बताउँदै तर आज आफू समेत काम गरिरहेको क्षेत्रको सम्मान गर्नुपर्ने बताए । हमालले भनेका छन्, ‘उहाँले मेरो सम्मान, तारिफ गर्नैपर्छ भन्ने छैन । तर, उहाँले मलाई मान्दिनँ वा म केही होइन भनेर भने पनि आफू जुन क्षेत्रमा हुनुहुन्छ, त्यो क्षेत्रको त सममान गर्नुहुन्छ होला नि ! आज उहाँले काम गरिरहेको क्षेत्र कसरी तयार भएको छ भन्नेमा उहाँको अध्ययन नभएको देखिन्छ ।’

स्मरण रहोस्, दीपाश्रीले फिल्मी क्षेत्रमा पाइला टेक्दा पहिलोपटक राजेश हमाल नायक भएकै फिल्ममा खेलेकी थिइन् । त्यसबेलाको सुपरहिट फिल्म ‘गाउँले’बाट दीपाश्रीले फिल्मी दुनियाँमा पाइला राखेकी थिइन् । सो फिल्मको ‘गोली सिसाको’ गीतमा दीपाले महानायक हमालसँगै नाचेकी थिइन् ।

प्रकाशित मिति २५ असार २०७७, बिहीबार ०७:२५
Loading...