‘बालोन डिओर मेस्सीले नजिते हाँस्यास्पद हुन्छ’

एजेन्सी, साउन ९
स्पेनिस बार्सिलोनाका लिजेन्ड खेलाडी जाभीले सन् २०१९ को बालोन डिओर अवार्ड बार्सिलोनाका लिओनल मेस्सीले जित्ने दाबी गरेका छन् । विगतमा लामो समय बार्सिलोनामा मेस्सीसँगै खेलेका जाभीले यस वर्ष मेस्सीको प्रतिस्पर्धी कोही नरहेको बताए ।

बालोन डिओर अवार्ड व्यक्तिगत प्रदर्शन र तथ्यांकलाई आधार मानेर दिइने भएकाले मेस्सीको जति शानदार प्रदर्शन कसैको नभएको जाभीले बताए । ‘गत सिजन मेस्सीले के गरे भन्ने उनको तथ्यांकले देखाउँछ । उनीसँग ५० भन्दा बढी गोल र २० असिस्ट छ,’ जाभीले भने, ‘मलाई लाग्छ, बालोन डिओर जित्न यो पर्याप्त तथ्यांक हो ।’

जाभीले बालोन डिओर टिमको सफलताभन्दा पनि खेलाडीको व्यक्तिगत प्रदर्शनलाई आधार मानेर दिइने हुँदा मेस्सी नै सबैभन्दा उचित व्यक्ति रहेको बताए । ‘बालोन डिओर खेलाडीको व्यक्तिगत प्रदर्शनलाई दिइने अवार्ड हो, यसले टिमको उपाधि वा हार–जितसँग अर्थ राख्दैन,’ जाभीले भने, ‘मेरो हिसाबमा मेस्सी अवार्डका हकदार छन् । यदि उनले जितेनन् भने एकदमै हाँस्यास्पद हुनेछ ।’

गत सिजन मेस्सीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट कूल ५१ गोल गर्दै १९ गोलका लागि असिस्ट गरेका थिए । यस वर्ष बालोन डिओरका लागि मेस्सीसहित इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका भर्जिल भान डाइक र इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई प्रमुख दाबेदार मानिएको छ ।

प्रकाशित मिति ९ श्रावण २०७६, बिहीबार १२:५५
Loading...