ग्रीजम्यान निकै खतरनाक खेलाडी हुन् : भाल्भर्डे

एजेन्सी, साउन ८
स्पेनिस बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आफ्ना नयाँ खेलाडी एन्टोनी ग्रीजम्यानका बारेका शानदार टिप्पणी गरेका छन् । बार्सिलोनाले हालै मात्र अनुबन्ध गरेका फ्रेन्च स्टार ‘एक खतरनाक खेलाडी’ भएको भाल्भर्डेले बताएका छन् ।

अघिल्लो दिन बार्सिलोना जापानमा राकुटेन कपअन्तर्गत प्रि–सिजनको पहिलो खेलमा इंग्लिस क्लब चेल्सीसँग २–१ ले पराजित भएको थियो । ग्रीजम्यानले बार्सिलोनाको जर्सीमा सोही खेलबाट डेब्यु गरेका थिए । बहुप्रतीक्षित ग्रीजम्यानको डेब्यु खेलमा बार्सिलोना हारे पनि भाल्भर्डेले भने आफू उनको प्रदर्शनबाट सन्तुष्ट भएको बताएका छन् ।

खेलपछि मिडियासँग कुरा गर्दै भाल्भर्डेले विश्वकपविजेता खेलाडीको सटिक रूपमा खुलेर तारिफ गरे । ‘ग्रीजम्यान निकै खतरनाक खेलाडी हुन् । हाम्रा विपक्षीका लागि उनी खराब समाचार हुन्,’ भाल्भर्डेले भने ।

ग्रीजम्यानले डेब्यु खेलमा गोल नगरे पनि वा टिम हारे पनि उनले आगामी दिनमा बार्सिलोनालाई धेरैथोक दिने बताए । ‘आज उनले गोल गरेनन् वा टिमले जित्न सकेन, यो ठूलो कुरा होइन,’ भाल्भर्डेले भने, ‘उनले टिमलाई धेरैथोक दिन सक्छन् ।’

बार्सिलोनाले ग्रीजम्यानलाई लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा अनुबन्ध गरेको हो । उनले क्लबसँग ५ वर्षका लागि सम्झौता गरेका छन् ।

प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार ०८:१८
Loading...