सिरी ए : आज राति युभेन्टस र लाजियोको खेल हुँदै

काठमाडौं, असार १६
इटालियन सिरी ए लिग फुटबलमा आज राति दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । सिजनको २९औं साताको खेलअन्तर्गत उपाधि होडमा रहेका युभेन्टस र लाजियोले आज आ–आफ्नो खेल खेल्न लागेका हुन् । जसमा लिग लिडर युभेन्टसले १७औं स्थानको जेनोआविरुद्ध उसैको घरमा खेल्नेछ । उता, लिगको दोस्रो स्थानको लाजियोले त्यसअघि १३औं स्थानको टोरिनोविरुद्ध उसैको घरमा खेल्नेछ ।

आज राति लाजियो र युभेन्टसले आ–आफ्नो खेल हुँदा दुवै टोली उत्तिकै दबाबमा हुनेछन् । हालको अवस्थामा २७ खेल सकिँदा युभेन्टस लाजियोभन्दा ४ अंकले अघि रहेर लिगको शीर्ष स्थानमा छ भने लाजियो दोस्रो स्थानमा छ । अब दुवै टोलीले अन्तिम १०–१० खेल खेल्न बाँकी छ ।

आज राति पहला लाजियो र टोरिनोको खेल हुनेछ । यो खेल टोरिनोको घरेलु मैदानमा नेपाली समयअनुसार राति ११ः१५ बजेबाट सुरु हुनेछ । हाल लाजियो ६५ अंकसहित दोस्रो स्थानमा छ भने टोरिनो ३१ अंकसहित १३औं स्थानमा रहेको छ ।

यदि आज राति अवे मैदानमा उत्रिँदा लाजियोले स्पष्ट जित निकाल्न सके युभेन्टसभन्दा एक खेल बढी खेलेको अवस्थामा उसले अंक दूरी १ मा झार्नेछ । तर, यदि पराजित भए वा बराबरीमा रोकिए राति आफ्नो खेल जितेर युभेन्टसले ऊसँगको अग्रता थप बढाउन सक्नेछ । लाजियो बराबरीमा रोकिए युभेन्टसले आफ्नो खेल जितेर अग्रता ६ बनाउने छ भने पराजित भए ७ बनाउनेछ । तसर्थ, उपाधि होडमा अन्तिम खेलसम्म युभेन्टसमाथि दबाब कायमै राख्ने लाजियोले आफ्ना हरेक खेलमा जित निकाल्नुपर्ने दबाब छ ।

यता, लिग लिडर युभेन्टस आज १७औं स्थानको जेनोआको घरमा उत्रिँदा उपाधि होडमा थप अग्रता बढाउने उसको लक्ष्य हुनेछ । हाल दोस्रो स्थानको लाजियोभन्दा ४ अंकले अघि रहेको युभेन्टस आज कम्तीमा पनि ४ अंककै अग्रता कायम राख्न यो खेलमा स्पष्ट जितको दबामा हुनेछ । यदि आफ्नो खेलभन्दा पहिला लाजियो आफ्नो खेलमा पराजित भए वा बराबरीमा रोकिए युभेन्टसले आफ्नो खेल जितेर अग्रता थप बढाउने अवसर हुनेछ । जेनोआ र युभेन्टसको खेल नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति १६ असार २०७७, मंगलवार ०५:१२
Loading...