बुफोन र चिलिनीले लम्ब्याए सम्झौता

काठमाडौं, असार १६
इटालियन क्लब युभेन्टसका भेट्रान खेलाडीद्वय गोलकिपर जियानलुइजी बुफोन र डिफेन्डर जर्जियो चिलिनीले क्लबसँग सम्झौता लम्ब्याएका छन् । लामो समयदेखि क्लबमा रहेका दुई खेलाडीले क्लबसँग थप एक सिजनका लागि सम्झौता नवीकरण गरेको क्लब युभेन्टसले अफिसियल रूपमा घोषणा गरेको छ । युभेन्टसले अफिसियल वबेसाइटमार्फत् जानकारी दिँदै दुवै खेलाडी सिजन २०२०–२१ सम्म खेलाडीकै रूपमा रहने बताएको छ ।

चिलिनी र बुफोन दुवै क्लबका लिजेन्ड खेलाडीमा पर्छन् । क्लबले दुई लिजेन्ड खेलाडीसँग सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताएको छ । हाल ४२ वर्ष पुगेका बुफोन १८ वर्षदेखि युभेन्टसमा गोलकिपर भूमिकामा खेलिरहेका छन् भने ३५ वर्षका चिलिनी १५ वर्षदेखि खेल्दै आएका छन् ।

बुफोन यसअघि टोलीका सिनियर कप्तान थिए । तर, अघिल्लो सिजन पिएसजीबाट फर्किएर आएपछि उनी टोलीमा दोस्रो रोजाइमा मात्रै छन् । अहिले चिलिनी टोलीका सिनियर कप्तान हुन् । चिलिनीले हालसम्म युभेन्टसका लागि सबैखाले प्रतियोगिताबाट कूल ५०९ खेलिसकेका छन् । बुफोनले कीर्तिमानी ६६९ खेल खेलेका छन् ।

प्रकाशित मिति १६ असार २०७७, मंगलवार ०२:१४
Loading...