नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि : कुन जिल्लामा कति ?

काठमाडौं, असार १५
नेपालमा कोरोना भाइरसका थप ४७६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानका प्रयोगशालामा भएको जाँचबाट कूल ४७६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमूना परीक्षण गर्दा ४७६ जनामा संक्रमण पुष्टि भएको हो । अब यससँगै नेपालमा कूल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । त्यसमध्ये ३ हजार १३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये काठमाडौं उपत्याकामा ८ जना रहेका छन् । जसमा काठमाडौं जिल्लाका ६ जना तथा ललितपुर र भक्तपुरका १–१ जना रहेका छन् ।

अन्य संक्रमितहरूमा सबैभन्दा धेरै डोटीमा ९६ जना रहेका छन् । त्यसपछि बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जना, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रूपन्देहीका ५–५ जना, प्युठान, चितवन र महोत्तरीका ४÷४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २–२ जनामा संक्रमण देखिएको छ । यता, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका १–१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यता, नेपालमा थप १ जनाको कोरोनाबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुने रौतहट घर भएका ३० वर्षका पुरुष रहेका छन् । उनको असार १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो । ती पुरुषलाई श्वासप्रश्वासमा कठिनाइ भएपछि अस्पताल लगेर आईसियुमा राखिएको थियो । अस्पताल लगिएकै दिन उनको स्वाब संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा सोही दिन राति उनको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो । यससँगै नेपालमा अब कोरोनाबाट मृत्यु हुनेको कूल संख्या २९ पुगेको छ ।

प्रकाशित मिति १५ असार २०७७, सोमबार १२:३७
Loading...