नेइमार फर्काउन बार्सिलोनाद्वारा दुनियाँ चकित पार्ने ‘बम्पर अफर’ !

एजेन्सी, साउन ३
स्पेनिस बार्सिलोना आफ्ना पूर्व ब्राजिलियन स्टार खेलाडी नेइमारलाई पुनः क्याम्प नोउ फर्काउन निकै महत्त्वकांक्षी देखिएको छ । सो महत्त्वकांक्षा पूरा गर्न बार्सिलोना निकै ठूलो बजेट खर्चिनसमेत तयार देखिन्छ ।

बार्सिलोनाले सन् २०१७ मा २५ वर्षीय नेइमारलाई विश्वकीर्तिमानी २२२ मिलियन युरोमा फ्रेन्च क्लब पिएसजीलाई बेचेको थियो । तर, अहिले आएर बार्सिलोनालाई सोही मूल्य निकै महँगो पर्ने भएको छ । किनभने, पिएसजी नेइमारलाई सजिलै बेच्ने पक्षमा छैन । ऊ बार्सिलोनालाई तिरेको रकमको ब्याजसहित असुल्ने दाउमा छ ।

अन्तर्राष्ट्रिय मिडिया रिपोर्टअनुसार बार्सिलोनाले नेइमार फर्काउन पछिल्लोपटक आफ्ना दुई स्टार खेलाडी ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो र फ्रेन्च विंगर उसामान डेम्बेलेसहित ४० मिलियन युरो रकम थप्ने गरी प्रस्ताव गरेको रिपार्ट बाहिरियो । बार्सिलोना स्वयंले पनि सो कुरा स्वीकारेको छ ।

तर, नासिर अल खिलाफीको नेतृत्वमा रहेको पिएसजी बार्सिलोनाको सो अफरबाट पनि प्रभावित भएन । जब, बार्सिलोनाले पिएसजीसँग गरेको प्रस्तावको कूल मूल्यांकन ३०५ मिलियन युरो हुन आउँछ । यो उसले नेइमार किन्दा बार्सिलोनालाई तिरेको भन्दा ८३ मिलियन बढी हो ।

तर, यति ठूलो अफरमा पनि पिएसजी इच्छुक नदेखिएपछि बार्सिलोनाले दोस्रोपटक झन् ठूलो अफर गरेको छ । पछिल्ला २४ घन्टाका रिपोर्टअनुसार बार्सिलोनाले नेइमारका लागि दुई खेलाडी यथावत राख्दै रकम ४० मिलियनबाट बढाएर १०० मिलियन पुर्याएको छ । त्यत्ति मात्रै हैन, यसअघि कोउटिन्हो, डेम्बेले र फ्रेन्च डिफेन्डर सामुएल उम्टिटीमध्ये दुई खेलाडी छान्न विकल्प दिएकोमा बार्सिलोनाले यसपटक खेलाडीको विकल्प पनि बढाएको छ ।

उसले यसपटक ६ जना खेलाडी विकल्पमा दिएको छ । जसमा कोउटिन्हो, डेम्बेले, क्रोएसियन मिडफिल्डर इभान राकिटिक, पोर्चुगिज लेफ्ट ब्याक नेल्सन सेमेडो र ब्राजिलियन विंगर माल्कोम रहेका छन् । बार्सिलोनाको प्रस्तावअनुसार पिएसजीले नेइमार छाड्न १०० मिलियन युरोसहित माथिका ६ जना खेलाडीबाट २ जना खेलाडी छान्न पाउनेछ । यदि पिएसजीले कोउटिन्हो र डेम्बेलेसहित १०० मिलियन युरोमा सहमत भए नेइमारको कूल मूल्य ३७० मिलियन हुन आउँछ ।

प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार १४:१३
Loading...