भारत–चीनसँगको सीमाका थप ८९ ठाउँमा सुरक्षाकर्मी राख्न धमाधम काम हुँदै

काठमाडौं, असार १४
पछिल्लो समय भारतसँग सीममा विवाद बढेसँगै नेपाल सरकारले सीमा क्षेत्रमा आफ्नो उपस्थिति बढाउन थालेको छ । सोहीक्रममा सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न १ सय १४ वटा स्थानमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्दैछ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा पहिलो चरणमा बिओपी स्थापना भइसकेका छन् । अब बाँकी ८९ स्थानमा बिओपी स्थापना गर्न तयारी थालिएको हो ।

सशस्त्र प्रहरीले बलले थप ८९ वटा स्थानमा सुरक्षाकर्मी राख्न काम थालिसकेको छ । तीमध्ये कतिपय ठाउँमा कहाँ राख्ने भनेर स्थानको पनि टुंगो भइसकेको छ । केही स्थानमा भने भाडाको भरमा राखिनेछ । गृह मन्त्रालयले जनाएअनुसार अब राखिने बिओपीमा उत्तरी सीमामा चीनसँग जोडिने ताप्लेजुङको ओलाङ्चुङगोलादेखि दार्चुलासम्म बिओपी थप हुनेछ । यसअघि सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा बिओपी स्थापना गरिसकेको छ ।

यता, यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा पनि बिओपी बसिसकेको छ । सरकारले गत वर्ष मंसिरमा ११४ स्थानमा बिओपी थप्ने निर्णय गरेअनुसार अहिले धमाधम तयारी थालिएको हो । सरकारको पछिल्लो योजनाअनुसार बिओपी स्थापना गर्न र सीमामा उपस्थिति बढाउन ९ हजार जनशक्ति थप्नुपर्नेछ ।

प्रकाशित मिति १४ असार २०७७, आईतवार १२:१३
Loading...