बार्यनलाई लगातार आठौंपटक बुन्डेसलिगा उपााधि : रच्यो इतिहास

काठमाडौं, असार १४
जर्मन क्लब बार्यन म्युनिखले लगातार आठौंपटक बुन्डेसलिगा उपाधि जितेको छ । गत राति लिगको अन्तिम ३४औं खेलमा उल्भ्सवर्गलाई उसैको घरमा बार्यनले ०–४ ले हरायो । तर, बार्यनले अन्तिम दुई खेल बाँकी छँदै उपाधि पोल्टामा पारिसकेको थियो । गत राति अन्तिम खेल औपचारिकताका खेल्दा उसले फराकिलो जित निकाल्दै सिजन सिध्यायो ।

यससँगै बार्यन आठौंपटक लगातार घरेलु लिग च्याम्पियन बन्न पनि सफल भयो । बार्यनले सिजन २०१२–१३ यता घरेलु लिग लगातार आठपटक जितेको छ । बुन्डेसलिगा इतिहासमा लगातार आठौंपटक उपाधि जित्ने बार्यन पहिलो टिम हो । यससँगै बार्यनले समग्रमा ३०औं पटक लिग उपाधि जितेको छ ।

गत राति सिजनको अन्तिम खेल सकिएपछि बार्यनलाई उपाधि प्रदान गरिएको थियो । बार्यनले उपाधि खुसीयाली उल्भ्सवर्गको घरेलु मैदानमा मनायो । खेलपछि बार्यनलाई उपाधिका साथै सर्वाधिक गोलकर्ता र सिजनका उत्कृष्ट खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट गोलकिपरलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

यो सिजन सकाउँदा बार्यनले ३४ खेलबाट कूल ८२ अंक जोड्न सफल भयो । उसले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई १३ अंकले पछि पारेर उपाधि जित्न सफल भयो । बार्यनले यो सिजन विपक्षीको पोस्टमा कूल १०० गोल हान्यो भने आफूले मात्रै ३२ गोल खायो, यो निकै ठूलो अन्तर हो । यसपटक बार्यन च्याम्पियन बन्दा डर्टमुन्ड दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा आरबी लेइपजिग र चौथोमा मोन्चेङ्लाड्वाक रह्यो । यी चार टोली अर्को सिजन च्याम्पियन्स लिगमा छनौट भएका छन् ।

यता, यसपटक पाँचौं स्थानमा बायर लेभरकुसेन, छैटौं स्थानमा होफेनहेइम र सातौं स्थानमा उल्भ्सवर्ग रहे ।  पाँचौं, छैटौं र सातौं  स्थानका टिमले अर्को सिजन युरोपा लिगमा छनौट भएका छन् । यो सिजन सकिँदा लेइपजिगले ६६, मोन्चेङ्लाड्वाकले ६५, लेभरकुसेनले ६३ र होफेनेहेइमले ५२ अंक जोड्यो । त्यस्तै, उल्भ्सवर्गले ४९ अंक जोड्यो ।

यस सिजन वेर्डर ३१ अंकसहित १६औं स्थान, फोर्टुना ड्युलेड्रफ ३० अंकसहित १७औं स्थान र पाडेरवर्नले २० अंकसहित १८औं स्थानमा रहेर सिजन पूरा गरे । जसमा १७औं स्थानको ड्युजेलड्रफ र १८औं स्थानको पाडेरवर्न भने रेलिगेसनमा पर्दै सिजन पूरा गरे ।

प्रकाशित मिति १४ असार २०७७, आईतवार ०४:०९
Loading...