‘आफूलाई व्यंग्य गर्ने’ अर्थुरको मेस्सीले यसरी गरे तारिफ !

एजेन्सी, असार २८
दुई दिनअघि ब्राजिलियन खेलाडी अर्थुर मेलोले अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीप्रति व्यग्यांत्मक टिप्पणी गरे । हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगितामा पराजय भोगेपछि मेस्सीले ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्था भएको’ र ‘ब्राजिललाई कोपा अमेरिका जिताउन मिलेमतो भएको’ भन्दै आरोप लगाएका थिए ।

अर्थुरले मेस्सीको आरोपको सन्दर्भमा बोल्दै ‘त्यो मेस्सीको निजी धारणा रहेको’ उल्लेख गर्दै अर्जेन्टिनाका खेलाडीलाई जति भ्रष्टचारबारे कुरा गर्न अरू कसैलाई नआउने’ बताएर मेस्सीप्रति व्यंग्य हानेका थिए ।

तर, अर्थुरले मेस्सीप्रति व्यंग्य गरेको एक दिनपछि मेस्सीले भने उनको व्यंग्यको जवाफमा अर्थुरको तारिफ गरेका छन् । मेस्सीले ‘मार्सा’सँग कुरा गर्दै अर्थुरलाई बार्सिलोनाका लिजेन्ड खेलाडी जाभीसँग तुलना गर्दै अर्थुर बार्सिलोनाका स्टार खेलाडी हुने बताएका छन् ।

२२ वर्षीय अर्थुरलाई बार्सिलोनाले अघिल्लो सिजन मात्रै २७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । बार्सिलोनामा पहिलो सिजन बिताएका उनले गहिरो प्रभाव पारिसकेका छन् । उनलाई धेरैले बार्सिलोनाका पूर्वकप्तान जाभीसँग तुलना गर्न थालेका छन् ।

‘उनी धेरै कुरामा जाभीजस्तै छन्, उनी जसरी खेल्छन् । उनी छोटा–छोटा पास खेल्न सिपालु छन् । प्रायः बल गुमाउँदैनन् । उनको यो खास विशेषता हो । उनको यही क्षमताले म चकित छु । यद्यपि, टिमका सबै खेलाडी मलाई मन पर्छ,’ मेस्सीले भने ।

मेस्सीले बार्सिलोना जसरी खेल्छ, अर्थुरसँग उस्तै शैली रहेको बताए । ‘हामी जस्तो शैलीले खेल्छौं, अर्थुरसँग पनि उस्तै शैली छ,’ मेस्सीले भने, ‘प्रशिक्षण दौरान उनले निकै छिटो बुझ्छन्, बल कता जाँदैछ र अब के हुनसक्छ भनेर उनलाई सजिलै थाहा हुन्छ ।’

प्रकाशित मिति २८ असार २०७६, शनिबार १३:०४
Loading...