भ्रष्टाचारको आरोप लगाउने मेस्सीलाई अर्थुरले दिए कडा जवाफ ! !

एजेन्सी, असार २७
हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगितामा भ्रष्टचार भएको र ब्राजिललाई जिताउन सेटिङ गरिएको भनेर आरोप लगाउने अर्जेन्टिनाका लिओनल मेस्सीलाई ब्राजिलका खेलाडी अर्थुरले कडा व्यंग्य हानेका छन् । स्मरण रहोस्, मेस्सी र अर्थुर दुवै बार्सिलोनाबाट सँगै खेल्छन् ।

अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २–० ले हारेपछि र तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेलमा मेस्सीले रातो कार्ड पाएपछि अर्जेन्टिनी कप्तान मेस्सीले मेडलसमेत लिन अस्वीकार गर्दै दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट संस्थ भएको भन्दै आरोप लगाएका थिए ।

सोही प्रसंगमा एक अन्तर्वार्ताक्रममा बोल्दै ब्राजिलका मिडफिल्डर अर्थुरले मेस्सीको खण्डन गर्दै उनीप्रति घोचपेच गरेका हुन् । उनले मेस्सीको आरोप उनको निजी धारणा भएकाले त्यसबाहेक उनलाई आफूले सम्मान गर्ने बताएका छन् । त्यसैगरी, अर्थुरले ‘हारेपछि भ्रष्टाचारको कुरा गर्न अर्जेन्टिनाका खेलाडीजति अरू कसैलाई नआउने’ भन्दै मेस्सीप्रति व्यंग्य हानेका छन् ।

‘भ्रष्टाचारबारे मेस्सीको आरोप ? यो उनको विचार हो । यसलाई म सम्मान गर्छु,’ अर्थुरले भने, ‘(हाँस्दै) तर, भ्रष्टाचारको विषयमा कुरा गर्न उनीहरूजति सिपालु अरू कोही छैनन् ।’

प्रकाशित मिति २७ असार २०७६, शुक्रबार ०२:५५
Loading...