मेस्सीलाई भिडालको साथ, रातो कार्ड दिने रेफ्रीबारे यसो भने

एजेन्सी, असार २५
भर्खरै ब्राजिलमा सकिएको कोपा अमेरिका फुटबल प्रतियोगिता केही विषयलाई लिएर विवादमा तानियो । खास गरी खेल खेलाउने रेफ्री र केही कमीकमजोरीका कारण समग्र खेल नै विवादमा आयो । त्यसमा पनि अर्जेन्टिना र ब्राजिलबीच भएको सेमिफाइनलको खेल र तेस्रो स्थानका लागि अर्जेन्टिना र चिलीबीच भएको खेलले समग्र प्रतियोगितालाई विवादको घेरामा उभ्याइदियो ।

तेस्रो स्थानका लागि अर्जेन्टिना र चिली खेल्दा लिओनल मेस्सी र ग्यारी मेडेल दुवैले रातो कार्ड पाएपछि खेल खेलाउने रेफ्रीको मेस्सीले चर्को आलोचना गरे । त्यसअघि सेमिमा ब्राजिलविरुद्धको खेलमा पनि रेफ्रीले पक्षपातपूर्ण निर्णय गरेको भन्दै मेस्सीले कडा आलोचना गरेका थिए ।

खेल खेलाउने रेफ्रीको आलोचना गरेका अर्जेन्टिी कप्तान लिओनल मेस्सीको विषय सेलाउन नपाउँदै चिलियन खेलाडी अर्टुरो भिडालले पनि मेस्सीकै शैलीमा कोपा खेलाउने रेफ्रीको कडा आलोचना गरेका छन् ।

भिडालले तेस्रो स्थानको खेल खेलाउने पराग्वेन रेफ्री डियाज डे भाइभरले खेल खेलाउँदा ‘केटाकेटीपना’ देखाएको भन्दै आलोचना गरे । ‘त्यो खेलमा रेफ्रीले खेलाडीलाई खेल्न दिएनन् । उनी खेलाडीभन्दा आफू बढी महत्त्वपूर्ण हुन खोजे,’ भिडालले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘त्यहाँ लियो (लियोनल मेस्सी) ले मेडेलसँग रातो कार्डको भागीदार हुन खराब केही गरेका थिएनन्, त्यो क्षण साँच्चै दुखद् थियो ।’

त्यसैगरी, भिडालले सेमिमा अर्जेन्टिना र ब्राजिलको खेल एकदमै पक्षपातपूर्ण भएको पनि बताए । ‘यस प्रतियोगितामा रेफ्रीले अर्जेन्टिनी टिमलाई ज्यादै चोट दिए । ब्राजिलविरुद्ध उनीहरूले दुई पेनाल्टी निर्विवाद पाउनुपर्ने थियो । तर, त्यहाँ तटस्थ निर्णय भएन,’ भिडालले भने ।

प्रकाशित मिति २५ असार २०७६, बुधबार ०३:२३
Loading...