मेस्सीमाथि छानबिन भए हुन सक्ने यी दुई कारबाही

एजेन्सी, असार २४
‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट अखडा रहेको’ र ‘रेफ्रीले ब्राजिललाई कोपा अमेरिकाको उपाधि जिताउन सघाएको’ भनेर आरोप लगाएका अर्जेन्टिनाका लिओनल मेस्सी यतिबेला विवादमा तानिएका छन् । उनीमाथि छानबिन हुने तयारी छ ।

हालै ब्राजिलमा सम्पन्न प्रतियोगितामा अर्जेन्टिना तेस्रो स्थानका लागि चिलीविरुद्ध खेल्नेक्रममा मेस्सी रातो कार्ड खाँदै मैदान छाडेका थिए । चिलीका खेलाडी ग्यारी मेडेलेसँग झडप परेपछि दुवै खेलाडीलाई रेफ्रीले रातो कार्ड दिएका थिए । खेल सकिएपछि मेस्सीले मिडियासँग बोल्दै ‘महासंघको भ्रष्टाचारको साक्षी आफू नहुने’ र ‘ब्राजिललाई उपाधि जिताउन सबै सेटिङ भएको’ भन्दै रिसाएका थिए ।

मेस्सीलाई न्यूनतम् प्रतिबन्ध

ब्राजिलमा कोपाको तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलक्रममा सोझै रातो कार्ड खाएका मेस्सीमाथि सामान्यतः एक खेलमा प्रतिबन्ध लाग्नेछ । सो प्रतिबन्ध सन् २०२२ का लागि हुने विश्वकप छनौट खेलअन्तर्गत सन् २०२० को मार्चबाट सुरु हुने छनौट खेलको पहिलो खेलमा लागू हुनेछ ।

तर, चिलीविरुद्धको खेलमा मेस्सीले विपक्षी खेलाडीसँग झगडा गरेकोमा आरोपमा रातो कार्ड पाएकाले उनीमाथि थप प्रतिबन्ध लागे उनले छनौट खेलका थप खेलमा पनि प्रतिबन्ध भोग्नुपर्ने हुन्छ । तर, यदि मेस्सी वा अर्जेन्टिनाले मेस्सीमाथि लागेको रातो कार्डको प्रतिबन्ध फुकुवाका लागि अपिल गरेको खण्डमा र अपिल सुनुवाई उनीमाथि प्रतिबन्ध लाग्नेछैन ।

महासंघमाथि लगाएको आरोपका लागि कुनै कारबाही ?

मेस्सीले भ्रष्टाचारको विषयमा कन्मेबलमाथि लगाएको आरोपलाई महासंघले गम्भीर रूपमा लिएको छ । मेस्सीसँग जोडिएको यो विषय युइएफएको कानुनसँग पनि मिल्ने भएकाले महासंघमाथि कडा कदम चाल्नुपर्ने दबाब देखिन्छ ।

तर, अर्जेन्टिनी फुटबल संघले मेस्सीको सम्भावित कारबाही रोक्न सक्दो लडाइँ लड्ने प्रयास गर्ने पक्का छ । यसअघि नै संघले आफ्नो टिम र खेलाडीका लागि सबैखाले संघर्ष गर्ने बताइसकेको छ ।

यदि मेस्सीले संस्थामाथि गम्भीर आरोप लगाएको मुद्दामा महासंघले छानबिन गरेको खण्डमा र मेस्सी दोषी ठहर भए मेस्सीमाथि अधिकतम् दुई वर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लाग्नसक्ने छ । यो अधिकतम् सजाय हुनेछ । तर, मेस्सीमाथि अधिकतम् कारबाही हुने सम्भावना न्यून छ ।

मेस्सी यसअघि सन् २०१८ को विश्वकपका लागि भएको छनौट खेल दौरान पनि चार खेलमा प्रतिबन्धमा परेका थिए । तर, पछि उनीमाथिको प्रतिबन्ध हटाइएको थियो । त्यसबेला सुरुमा चार खेलको प्रतिबन्ध भनिए पनि उनीमाथि एक खेलमा मात्रै प्रतिबन्ध लगाइएको थियो ।

त्यत्तिबेला पनि मेस्सीले रेफ्रीमाथि गलत टिप्पणी गरेको मुद्दामै कारबाही गरिएको थियो । तसर्थ, यसपटक पनि मेस्सीले उस्तै व्यवहार गरेकाले यसपटक मेस्सीलाई महासंघ सजिलै छाड्ने पक्षमा छैन ।

प्रकाशित मिति २४ असार २०७६, मंगलवार ०९:२०
Loading...