रियल मड्रिडलाई उसकै घरमा ५–० ले हराउन मन छ : डे जोङ

एजेन्सी, असार २१
स्पेनिस बार्सिलोनाका नयाँ खलाडी फ्रेन्की डे जोङले कट्टर प्रतिस्पर्धी क्लब रियल मड्रिडलाई उसकै घरमा फराकिलो अन्तरले हराउन आफूले चाहेको बताएका छन् । अघिल्लो दिन बार्सिलोनाको घरेलु रंगशाला क्याम्प नोउमा बार्सिलोनाको जर्सीमा सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै डे जोङले यस्तो बताएका हुन् ।

बार्सिलोनाले गत जनवरीमै स्टार डच खेलाडी डे जोङलाई अनुबन्ध गरेको थियो । यो समयका चर्चित युवा मिडफिल्डरले बार्सिलोनाको जर्सी लगाउनासाथ क्लबको कट्टर प्रतिस्पर्धी क्लब रियल मड्रिडलाई काउन्टर दिएका हुन् । २३ वर्षीय डच खेलाडी डे जोङलाई बार्सिलोनाले आगामी सिजन प्रमुखतासाथ टोलीमा प्रयोग गर्ने तयारी गरेको छ ।

क्याम्प नोउमा सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारले इएल क्लासिकोबारे डे जोङसँग प्रश्न गरेका थिए । जसमा उनले शानदार कमेन्ट गरे । उनले भने, ‘मलाई आशा छ कि, बेर्नाबेउमा रियल मड्रिडलाई हामी ५–० ले हराउन सक्छौं । पछिल्ला वर्ष बार्सिलोनाले अधिकांश इएल क्लासिको जितिरहेको छ । म मेरो करिअरमा पनि यहाँ रहँदा यस्तै नतिजा चाहन्छु ।’

नयाँ सिजनको पहिलो इएल क्लासिको घरेलु लिग ला लिगाअन्तर्गत १०औं साताको खेलअन्तर्गत आगामी अक्टोबर २७ तारिखमा हुँदैछ । सो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । त्यसपछि सिजनको दोस्रो इएल क्लासिको २६औं सातामा जनवरी ३ मा रियलको घर बेर्नाबेउमा हुनेछ ।

प्रकाशित मिति २१ असार २०७६, शनिबार १२:२८
Loading...