यी हुन् हजारौं वर्ष पहिलेका दुनियाँका सबैभन्दा पुराना पाँच सहर

धर्तीमा मानव सभ्यताको विकाससँगै हजारौं वर्षअघि बनेका केही सहरहरूबारे यहाँ चर्चा गरिएको छ । ती सहर यस्ता छन्, जो आजभन्दा हजारौं वर्ष पहिले नै बनेका थिए । त्यहाँ हजारौं वर्षअघि पनि मानिसको बसोबास थियो । इतिहासअनुसार विश्वमा ११ हजार वर्ष पुरानो सहर समेत अहिले अस्तित्वमा छ । यहाँ त्यसबारे चर्चा गरिएको छ ।

(१) दमास्कस

यो यस शताब्दीमा युद्धले थलिएको देश सिरियाको राजधानी हो– दमास्कस । जुन विश्वको सबैभन्दा पूरानो सहर हो । त्यहाँ ११ हजार वर्षदेखि निरन्तर मानव जातिको बसोबास रहँदै आएको छ । यसको अवस्थिति र विद्यमानताका कारण यो सहर धेरै मानव सभ्यताहरू आउने–जाने क्रमको केन्द्रका रूपमा रहँदै आएको छ । हाल यस सहरमा २५ लाख मानिसको बसोबास रहेको छ । सन् २००८ मा दमास्कसलाई ‘संस्कृतिको अरबी राजधानी’ सहरका रूपमा सरकारले घोषणा गरेको थियो ।

(२) जेरिको सहर

प्यालेस्टाइनको जेरिको सहर विश्वको सबैभन्दा प्राचीन सहरमध्ये एकमा पर्छ हो । यो सहरमा आजभन्दा ११ हजार वर्षअघि समेत मानिसको बसोबास रहेको प्रमाणहरू अहिले पनि फेला परेका छन् । अहिले उक्त सहरको ठाउँमा एउटा गाउँ छ, जहाँ झन्डै २० हजार मानिसको बसोबास छ । यो सहर विश्वको पहिलो पर्खालले घेरिएको सहर हो भने समुद्री स्तहभन्दा होचो ठाउँको सहरका रूपमा पनि परिचित छ ।

(३) एलेप्पो सहर

यो पनि सिरियाकै सहर हो । सिरियाको एलेप्पो सहर करिब ८ हजार वर्षअघि स्थापना इतिहास पाइन्छ । तर, केही उत्खननबाट चाहिँ यो सहर आसपासमा १३ हजार वर्षअघि समेत मानव जाति बसोबास रहेका ऐतिहासिक प्रमण फेला परेका छन् । भूमध्यसागर र मेसोपोटामियाको बीचमा रहेको र सिल्क रोडको अन्तिम विन्दुको रूपमा रहेको हुँदा प्राचीनकालदेखि नै यो सहर युरोप र एसियाको बीचको व्यापारिक केन्द्रको रूपमा रहेको थियो । तर, सन् २०१२ देखि सिरियामा सुरु भएको गृहयुद्धका कारण यो सहर तहसनहस भएको छ । युद्धका कारण यो सहरका प्राचीन सम्पदा सबै ध्वस्त भएका छन् । र, आजसम्म ती सम्पदा पुनर्निर्माण पनि गरिएको छैन ।

(४) एथेन्स

ग्रीसको राजधानी एथेन्स चर्चित सहर हो । यस सरहलाई दर्शनशास्त्रको उद्गमस्थल तथा पश्चिमी सभ्यताको जन्मस्थान मानिन्छ । राजधानी एथेन्स सहर ७ हजार वर्षअघि स्थापना भएको इतिहास छ । सुकरात, प्लेटो तथा अरस्तु जन्मिएको एथेन्सको बीचमा चट्टानी पहाडमा रहेको एथिना मन्दिर तथा एक्रोपोलिस स्मारकका साथै विश्वकै पुरानो रंगमञ्च समेत प्रमुख आकर्षणको केन्द्र रहेको छ । यी ठाउँ विश्वमा निकै चर्चित छन् ।

(५) आर्गोस

विश्वका पुराना सहरमध्ये ग्रीसको आर्गोस सहर पनि एक हो । जहाँ ७ हजार वर्षदेखि मानव जातिको बसोबास रहेको विश्वास गरिन्छ । उर्वर भूमि तथा अवस्थितिका कारण यो सहर इतिहासकालदेखि नै सम्वृद्ध तथा शक्तिशाली रहेको थियो । ग्रीस अहिले पनि विश्वमा एक रोजाइको गन्तव्यमा रूपमा परिचित रहेको छ ।

प्रकाशित मिति २६ जेष्ठ २०७७, सोमबार ०६:४०
Loading...