रहेनन् नेपाली फिल्मका लिजेन्ड कलाकार चन्द

काठमाडौं, जेठ १९
नेपाली चलचित्र क्षेत्रका चर्चित चरित्र अभिनेता जयनेन्द्र चन्द ठकुरीको निधन भएको छ । ९१ वर्षको उमेरमा आइतबार उनको निधन भएको हो । आफ्नै घर ललितपुरको बागडोलमा दिउँसो ११ बजेर २० मिनेटमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

चन्दको आइतबारै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण थोरै मात्रै मलामाी सहभागी थिए । उनी आफ्नी छोरीको साथमा बस्दै आएका थिए । लामो समयदेखि प्यारालाइसिस रोगबाट थलिएका उनलाई सुगरको समस्या थियो ।

चरित्र अभिनेताका रूपमा स्थापित चन्दले फिल्म ‘जीवनरेखा’ बाट अभिनयको दुनियाँमा पाइला राखेका थिए । त्यसपछि उनले विश्वास, भाग्यरेखा, फेरि भेटौंला, मायालु, युद्ध, एक्का ट्रायल, पर्खी बसें, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकारलगायत थुप्रै फिल्म खेले ।

चन्दले पछिल्लोपटक फिल्म ‘भागी भागी नजाऊ’ फिल्म खेलेका थिए । उनले फिल्मी क्षेत्रमा ४० वर्षभन्दा बढी समय बिताए । चन्दले आफ्नो करिअर दौरान भारतीय फिल्म ‘पञ्चवटी’ तथा एक पाकिस्तानी फिल्ममा समेत चन्दले अभिनय गरेका छन् । चन्दकी एक छोरी र श्रीमती रहेका छन् ।

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार ०२:२७
Loading...