५० वर्ष पुरानो गीत गाएर नेपाली युवा दिवेश पुगे अमेरिकन आइडलको टप–१० मा

काठमाडौं, वैशाख २७
विश्वको सबैभन्दा चर्चित सांगीतिक रियालिटी शो ‘अमेरिकन आइडल’ को जारी सिजनको उत्कृष्ट १० मा नेपाली युवा दिवेश पोखरेल पनि परेका छन् । १८औं संस्करणको जारी सिजनमा नेपाली युवा दिवेशले आफूलाई टप–१० मा पार्न सफल भए ।

दिवेश मात्रै २१ वर्षका युवा हुन् । उनी सो प्रतियोगितामा ‘आर्थर गन’का नामले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सुरुआतबाटै आफूलाई अब्बल साबित गर्दै आएका दिवेशले सामाजिक सन्जालबाट टप–१० परेपछि खुसी व्यक्त गरेका छन् ।

साथै, दिवेशले आफूलाई भोट गरेर टप–१० मा स्थान बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापनतसमेत गरेका छन् । उनले आफ्ना समर्थकलाई सहयोग जारी राख्न पनि अपिल गरेका छन् । उनले टप–१० परेपछि खुसी हुँदै ट्वीट गरेका छन्–

‘हामी टप–१० पुग्न सफल भयौं । सुरुआतदेखि नै समर्थन गर्ने सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । म विश्वभरिबाट आएको यो विशाल समर्थनको सधैं कदर गर्नेछु । यसलाई व्यक्त गर्न शब्दहरूले न्याय गर्नेछैनन् । फेरि पनि धन्यवाद ।’

दिवेशले टप–१० प्रवेशका लागि ५० वर्ष पुरानो गीत गाएका थिए । सन् १९७१ मा रेकर्ड भएको जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएका थिए । सोही गीतले उनलाई टप–१० को सिँढी चढाउन पनि सफल भयो ।

प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार ०२:२७
Loading...