लिजेन्ड खेलाडी भन्छन्, ‘बार्सिलोनामा मेस्सीसँग ठूलो शक्ति छ’

एजेन्सी, माघ २५
पछिल्लो समय स्पेनिस क्लब बार्सिलोनामा कप्तान लिओनल मेस्सीसहितका खेलाडी र क्लबका खेल निर्देशकबीच उत्पन्न विवादबारे क्लबका पूर्वखेलाडी रिभाल्डोले धारणा राखेका छन् । ब्राजिलका खेलाडी उनले मेस्सीको अभिव्यक्ति स्वभाविक रहेको बताउँदै उनीसँग क्लबमा ‘ठूलो शक्ति’ रहेको मात्रै बताएनन्, उनको अभिव्यक्ति खेलाडीको पक्षमा रहेको समेत बताए ।

केही दिनअघि खेल निर्देशक इरिक अबिडालले एक अन्तर्वार्ताक्रममा पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा केही खेलाडीले मेहनत नगरेको भन्दै असन्तुष्टि पोखेका थिए । त्यसको भोलिपल्टै कप्तान मेस्सीले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् खेलाडीको आलोचना गर्ने अबिडालको भनाइप्रति आपत्ति जनाउँदै मेहनत नगर्ने खेलाडीको नाम दिन चुनौती नै दिएका थिए । मेस्सीको सो भनाइपछि सो विषय एकाएक तातेको थियो ।

सोही विषयमा बोल्दै बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डोले मेस्सीसँग अबिडालको भनाइमाथि प्रतिक्रिया दिने अधिकार रहेको र उनले खेलाडीको हितमा कुरा गरेको बताए । ‘यस विषयमा मेस्सी कप्तानका हिसाबले सही छन् । उनले खेलाडीको हितमा यसो भनेका थिए । मलाई लाग्दैन, उनी यसमा गलत छन्,’ रिभाल्डोले भने ।

रिभाल्डोले अघि थपे, ‘मेस्सीसँग सबैकुरा बोल्ने अधिकार छ । किनभने, उनीसँग क्लबमा ठूलो शक्ति छ ।’

प्रकाशित मिति २५ माघ २०७६, शनिबार १३:४४
Loading...