कोपाबाट आउट भएपछि मेस्सीको पक्ष लिँदै यसरी रिसाए अल्बा

एजेन्सी, माघ २४
स्पेनिस बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले ‘खेलाडीले मेहनत नगरेको’ भनेर आलोचना गर्ने क्लबका खेल निर्देशक इरिक अबिडालविरुद्ध आफ्ना कप्तान लिओनल मेस्सीको पक्षमा उभिएका छन् । गत राति कोपा डेल रे फुटबलको अन्तिम आठमा एथ्लेटिक बिल्बाओसँग अवे मैदानमा १–० ले पराजित भएर प्रतियोगिताबाटै आउट भएपछि अल्बाले यस्तो बताएका हुन् ।

केही दिनअघि अबिडालले एक अन्तर्वार्तामा बोल्दै पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा केही खेलाडीले आवश्यक मेहनत नगरेको बताएपछि कप्तान मेस्सीले सामाजिक सन्जालमार्फत् आक्रोश पोख्दै मेहनत नगर्ने खेलाडीको नाम दिन चुनौती दिएका थिए । त्यसपछि बार्सिलोनामा ठूलो हलचल पैदा भएको थियो । सोही विषयमा बोल्दै अल्बाले निर्देशक अबिडालले निराधार कुरा गरेको भन्दै कप्तानका हैसियतमा मेस्सीको अन्तुष्टि जायज रहेको बताए ।

‘उनी (अबिडाल) के–के आधारमा त्यो भने, मलाई थाहा छैन । तर, नाम नतोकी खेलाडीमाथि काम नगरे त्यस्तो भन्नु भनेको सबै खेलाडीलाई भन्नु हो,’ अल्बाले भने, ‘यो कुरा खेलाडीलाई मन परेको छैन । तर, यो प्राविधिक कुरा हो । यसले टिमको प्रदर्शन र नतिजामा फरक पार्दैन ।’

उनले अघि थपे, ‘लियोले जे भने, एक खेलाडी र कप्तानका हिसाबले भने, जुन सही छ । यस्ता कुरामा स्पष्ट कुरा आउनुपर्छ ।’

कोपाबाट बाहिरिएको विषयमा अल्बाले नसोचेको नतिजा निस्किएको बताए । ‘खेल कठिन हुनेवाला छ भन्ने हामीलाई अनुमान थियो । तर, हामी यति चाँडै आउट हुनु कमजोरी हो । टिम हारको जिम्म लिन तयार छ,’ उनले भने ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०८:०८
Loading...