खेलाडीको आलोचना गर्ने खेल निर्देशकसँग क्लबका अध्यक्षको ‘आकस्मिक’ बैठक

एजेन्सी, माघ २३
खेलाडीले पर्याप्त मेहनत नगरेको भन्दै आलोचना गर्ने स्पेनिस फुटबल क्लब बार्सिलोनाका खेल निर्देशक इरिक अबिडालसँग क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले आकस्मिक बैठक राखेका छन् । अघिल्लो दिन उनले पूर्वखेलाडीसमेत रहेका अबिडालसँग बैठक बसेर कप्तान लिओनल मेस्सीसँगको विवादलाई लिएर छलफल गरेका हुन् ।

तीन दिनअघि अबिडालले एक अन्तर्वार्तामा बोल्दै ‘पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा केही खेलाडीले आवश्यक मेहनत नगरेको’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसकै भोलिपल्ट मेस्सीले अबिडालसँग रिसाउँदै ‘मेहनत गर्ने खेलाडीको नाम दिन’ भन्दै सामाजिक सन्जालमार्फत् चुनौती दिएपछि क्लबभित्रको विवाद छताछुल्ल भएको थियो । सो विषय एकएक तातेपछि अध्यक्षले अबिडालसँग बैठक बसेर समस्या समाधान गर्न प्रयास गरेको ‘मार्सा’ पत्रिकाले जनाएको छ ।

सो विवादपछि क्लबले अबिडाललाई पदबाट हटाउन सक्ने वा अबिडाल स्वयंले पद छाड्ने सक्ने चर्चाबीच क्लबका अध्यक्षले भने समस्या समाधान भएको र अबिडालले आफ्नो पद निरन्तर सम्हाल्ने भन्दै मिडियासँग बताएका छन् । उनले ‘आपसी असमझादरी’बाट उत्पन्न समस्या भन्दै त्यही ढंगले व्यवस्थापन हुने बताए ।

क्लबमा यस्तो विवाद चलिरहँदा बार्सिलोनाले आजै राति कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा अवे मैदानमा एथ्लेटिक बिल्बाओसँग सेमिफाइनल जान निर्णायक खेल खेल्दैछ ।

प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ११:०९
Loading...