घरबाट ‘दूध बेच्न’ हिँडेकी मनमाया फेरि घर फर्किइनन्, टिपरले उठायो चोला

गोरखा, माघ १७
जताततै ट्रिपरका कारण मानिसको ज्यान गइरहेका बेला गोरखामा एक महिलाको ज्यान गएको छ । यहाँको गोरखा नगरपालिका–१०, अमलापानीकी ५२ वर्षीया मनमाया तामाङले टिपरको ठक्करबाट ज्यान गुमाएकी छन् । शुक्रबार बिहान घरबाट दूध बेच्न भनेर घरबाट हिँडेकी उनी नजिकैको छेपेटार बजारतर्फ जाँदै थिइन् ।

वरिपरि बाक्लो कुहिरोले ढाकेको थियो । उनी हिँड्ने छेपेटार बजार जाने बाटोमा गोरखकाली क्रसर उद्योग छ । क्रसरमा टिपरको ओहोरदोहोर छिनछिनमै चलिरहन्छ । मनमाया सधैं पनि त्यही बाटो भएर हिँड्थिन् । तर, शुक्रबार बिहान त्यो बाटो मनमायाका लागि काल बनेर आयो ।

क्रसर परिसरको नजिकैबाट हिँडिरहेकी मनमायालाई ग१ख ८०२७ नम्बरको टिपरले ठहरै किच्यो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनमायाको किचिएपछि घटनास्थलमै ज्यान गएको थियो ।

मनमायालाई टिपरले ६ः४५ बजेतिर किचेको थियो । घटनापछि आक्रोशित बनेका स्थानीय तथा मनमायाका आफन्तले २० भन्दा बढी टिपर र ६ वटा एक्साभेटरका सिसा फुटाइदिए भने एक टिपरमा आगोसमेत लगाए ।

घटनापछि स्थानीय बासिन्दाले क्रसर उद्योग बन्द नगरेसम्म मनमायाको शव नउठाउने अडान राखेका छन् ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १७:२०
Loading...