‘माफ गर्नु होला– यो सिजन बार्सिलोनाको होइन’

एजेन्सी, माघ १३
स्पेनिस क्लब बार्सिलोना जारी सिजन आजका दिनसम्म पनि तीन वटै प्रमुख प्रतियोगिताको उपाधि होडमा छँदैछ । ऊ च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलको अन्तिम १६ मा छ भने ला लिगाको दोस्रो स्थानमा छ । पछिल्लोपटक भ्यालेन्सियासँग हारेपछि बार्सिलोनालाई रियल मड्रिडले ३ अंकले पछि पारेको छ । रियल मड्रिडले कहीं कतै एक गल्ती गर्नासाथ बार्सिलोनाले लिगमा जतिबेलै पनि शीर्ष स्थानमा कमब्याक गर्न सक्छ ।

तर, बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डो भने यो सिजन बार्सिलोनाका लागि खराब सिजन हुनसक्ने खतरा आफूले देखेको बताउँछन् । प्रशिक्षकको अस्थिरता र पछिल्ला खेलका नतिजाले बार्सिलोना अबका दिनमा झन् कठिन अवस्थामा पुग्नेउनले बताए । ‘मार्सा’सँग कुरा गर्दै उनले पछिल्ला केही खेलको प्रदर्शन हेर्दा बार्सिलोनाले यो सिजन कुनै उपाधि नजित्ने बताए ।

‘म बार्सिलोनाका हरेक खेल हेरिरहेको छु । तर, पछिल्ला दिन उनीहरूले जसरी खेलिरहेका छन्, माफ गर्नु होला– यो स्तरको प्रदर्शनले उनीहरूले केही जित्न सक्दैनन्,’ रिभाल्डोले भने, ‘चिन्तासाथ भन्नुपर्दा यो सिजन बार्सिलोनाको हुनेछैन ।’

रिभाल्डोले कप्तान मेस्सी एकदमै थकित र निराश देखिनु, टिमको रक्षापंक्ति झन् फितलो हुँदै जानु र प्रशिक्षकको अस्थिरताले टोलीमा समस्यामा परेको बताए । ‘मलाई थाहा छैन, मेस्सी किन यति थकित र निराश छन् । उनले आफ्नो काम ठीकठाक गर्न सकिरहेका छैनन्,’ रिभाल्डोले भने, ‘टिमको फितलो रक्षापंक्ति र प्रशिक्षकको अस्थिरताले क्याम्प नाउमा थप समस्या बढाएको देखिन्छ ।’

प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०६:१९
Loading...